| आइतवार, कार्तिक २२, २०८३

स्थानीय तहको चौमासिक खर्चदर सुधारोन्मुख तर सन्तोषजनक हुन सकेन

शिब उप्रेती

गोरखा नगरपालिकाले चालु आर्थिक बर्ष सम्पन्न गर्नेगरी ९९ करोड रुपैयाँको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको थियो ।

बर्षको प्रथम चौमबासिक अवधि सकिँदा नगरपालिकाले कूल बजेटको २०.२३ प्रतिशत खर्च गरेको छ ।
सुरुको चार महिनामा भएको यो खर्च दर स्वभाविक रहेको नगरपालिकाका मेयर राजनराज पन्तको तर्क छ । ‘अवधिको हिसाबले ३३ प्रतिशत समय सकिएपनि सुरुको चरणमा योजना छनोट प्रक्रिया, उपभोक्ता समिति गठन, सर्भे, डिजाइन, इस्टिमेट, टेण्डर प्रक्रिया आदिले धेरै समय लिनेहुँदा खर्चदर कम देखिने गर्छ’, मेयर पन्त भन्छन्, ‘भर्खर निर्माणको काम तथा कार्यक्रमहरु सुरु भएको हुन्छ ।

कतिपयको निकासा भैसकेको पनि हुदैन त्यसैले जुन दरमा खर्च भएको देखिएको छ, त्यसलाई अन्यथा मान्न मिल्दैन ।’ दोस्रो र अन्तिम चौमासिकमा प्रगति दर सन्तोषजनक हुने उनले बताए ।
बारपाक सुलीकोट गाउँपालिकामा चालु आर्थिक बर्षका लागि करिब ६० करोड रुपैयाँ प्राप्त भयो । जसमध्य सुरुको चार महिनामा ११ करोड ३४ लाख रुपैयाँ खर्च भएको छ ।
सञ्चालन खर्चतर्फ आठ करोड ६२ लाख र कार्यक्रमतर्फ तीनकरोड २८ लाख रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए । यो खर्च कूल बजेटको १८ प्रतिशत रहेको उनले बताए ।
बारपाक सुलीकोट गाउँपालिकामा गतबर्ष भन्दा यो बर्ष भएको खर्च तुलनात्मक रुपमा राम्रो भएको गाउँपालिकाका प्रमुख विष्णु भट्ट बताउँछन् । ‘गतबर्ष यो अवधिमा ६ प्रतिशत मात्र प्रगति भएको थियो । अहिले यो दर बढेर १८ प्रतिशत भयो ।

यसरी तुलनात्मक रुपमा हेर्दा खर्च दर त बढेको छ तर सोचेजति अझै हुन सकिरहेको छैन’, भट्ट भन्छन्, ‘१२ महिनामा चार महिना भनेको ३३ प्रतिशत अवधि हो । यसमा २५ प्रतिशत खर्च गर्न सक्छौँ भन्ने लक्ष्य राखेका थियौँ तर सकिएन । त्यसैले अपेक्षित प्रगति गर्न सकिएन ।’
आरुघाट गाउँपालिकाले यसबर्ष ५४ करोड ८५ लाख रुपैयाँको बजेट तथा कार्यक्रम निर्माण ग¥यो । जसमध्य साउनदेखि कात्तिकसम्म १३.७८ प्रतिशत खर्च गरेको छ । चालुतर्फ २०.५८ र पुँजीगततर्फ ५.४१ प्रतिशत मात्र खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत एकदेव खनाल बताउँछन् ।
त्यस्तै पालुङटार नगरपालिकाले चालु आर्थिक बर्ष बिनियोजन गरेको ७७ करोड ६६ लाख रुपैयाँ बजेटमध्य पहिलो चौमासिक अवधिमा १५.१५ प्रतिशत खर्च गरेको छ ।
शहीद लखन गाउँपालिकाले चालु आर्थिकबर्षका लागि घोषणा गरेको ६२ करोड रुपैयाँको बजेट तथा कार्यक्रममध्य प्रथम चौमासिक अवधिमा १२ करोड रुपैयाँ खर्च गरेको छ ।

यो कूल बजेटको २० प्रतिशत रहेको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै गण्डकी गाउँपालिकाले १३ प्रतिशत बजेट खर्च गरेको जनाएको छ ।
भीमसेन थापा गाउँपालिकाको चालु आर्थिक बर्षको बजेट ६१ करोड ३८ लाख रुपैयाँ हो । जसमध्य पहिलो चार महिनाको अवधिमा चालुतर्फ २०.३८ प्रतिशत खर्च गरेको छ भने कार्यक्रमतर्फ ३.५४ प्रतिशत मात्र खर्च गरेको छ ।

कूल बजेटको जम्मा १३.२४ प्रतिशत खर्च गरिएको लेखापाल महेन्द्र शर्माले जानकारी दिए ।
धार्चे गाउँपालिकाले चालु बर्षका लागि तय गरेको बजेट तथा कार्यक्रममध्य १९.४ प्रतिशत खर्च गरेको जनाएको छ । जसमध्य कार्यक्रमतर्फ जम्मा एक प्रतिशत मात्र रहेको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर अधिकारीले जानकारी दिए ।

चुमनुब्री गाउँपालिकाले पनि चालु आर्थिक बर्षमा १९.४८ प्रतिशत बजेट खर्च गरेको जनाएको छ । जसमध्य सबै सञ्चालन खर्च रहेको प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए । अजीरकोट गाउँपालिकाले चालु आर्थिक बर्ष सञ्चालन गर्न ४६ करोड ६९ लाख रुपैयाँको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको थियो । जसमध्य प्रथम चौमासिक मा सञ्चालनतर्फ २५.३ प्रतिशत खर्च गरिसकेको छ भने कार्यक्रम तर्फ ९.५ प्रतिशत खर्च गरेको पालिकाका प्रमुख फणिन्द्र धितालले जानकारी दिए ।

कोभिडका कारण खर्च दर अपेक्षित हुन नसकेको अध्यक्ष धितालको टिप्पणी छ । ‘यतिञ्जेल धेरै काम भइसक्नु पर्ने हुन्थ्यो तर कोभिडका कारण गर्न सकिएन’, उनी भन्छन्, ‘पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई नै कोभिडले छोयो । उहाँलाई ठिक भयो, फेरि लेखा अधिकृतलाई कोरोना भयो । उहाँहरु निस्केर आउनु भयो फेरि कन्ट्याक टूेसिङ गर्दा फेरि जना प्राविधिकलाई देखियो ।’ कोरोना महामारीले यसबर्ष धेरै नै बिथोलेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्