| सोमवार, कार्तिक २३, २०८३

मनास्लु क्षेत्रमा अब फोरजी इन्टरनेट चल्ने

प्रसिद्ध पर्यटकीय स्थल मनास्लु क्षेत्रमा अब नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन हुने भएको छ ।

नेपाल टेलिकमले चुमनुब्री गाउँपालिकाको वडा नं. ३ न्याकमा, वडा नं. ४ क्वाकमा र वडा नं. ७ छेकम्पारमा नमस्ते मोबाइलको फोरजी सेवा सञ्चालन हुने गरी टावर निर्माण गर्न लागेको प्रादेशिक निर्देशनालय पोखराका वरिष्ठ इञ्जिनियर प्रक्षेत थापाले जानकारी दिए ।


‘वडा नं. ३ को न्याकमा, वडा नं. ४ को क्वाकको डाँडामा र वडा नं. ७ को यसअघि स्काइ मोबाइलको टावर रहेको ठाउँमा फोरजीको टावर राख्न काम सुरु भएको छ’, थापाले भने, ‘हाल रहेको स्याटेलाइट प्रविधि बिस्थापित गरी रेडियो लिंक प्रविधि जडान गर्दैछौं । अब मनास्लु बेसक्याम्पदेखि छेकम्पारसम्म नमस्तेको सिमकार्ड चल्ने बनाउने हाम्रो लक्ष्य हो ।’ केरौंजाको टावरबाट न्याकको टावरमा लिंक गराउन न्याकमा रिपिटर टावर निर्माण गरिने उनले बताए ।


यसअघि चुमनुब्री गाउँपालिकाको वडा नं. २, वडा नं. ४ र वडा नं. ५ मा मात्र नमस्तेको सिमकार्ड चल्ने गरेको छ । अन्य वडाका गाउँहरुमा स्काइ मोबाइल मात्र चल्ने टेलिकमले जनाएको छ । गाउँपालिकाको केन्द्र रहेको फिलिम, वडा नं. १ सामागाउँ र वडा नं. ६ चुम्चेतका गाउँहरुमा भने दोस्रो चरणमा सेवा बिस्तार गर्ने टेलिकम प्रादेशिक कार्यालयले जनाएको छ ।


‘पहिलो चरणमा हामीले यसअघि नमस्तेको मोबाइल चल्ने ठाउँको सेवा मजबुद बनाउने हो । थ्री जी चलेको ठाउँमा फोर जी चलाउने हो’, बरिष्ठ इञ्जिनियर थापाले भने, ‘त्यसपछि मात्र फिलिम, सामागाउँ, साम्दो लगायतका गाउँमा टावर बिस्तार गर्नेछौं ।’ न्याक, क्वाक र छेकम्पारमा २५ मिटरको टावर बनाउन थालिसकेको उनले बताए ।

नयाँबर्षसम्म काम सम्पन्न गरेर फोरजी सेवा सञ्चालन गर्ने नेपाल टेलिकमको लक्ष्य छ । ‘अब हिउँ पर्ने सिजन सुरु भएको छ । यदि मौसमले धोका दिएन भने नयाँबर्षको बैशाख महिनाभित्र फोरजी सेवा सञ्चालन गर्नेछौं’, वरिष्ठ इञ्जिनियर थापाले भने ।

प्रतिक्रिया दिनुहोस्