
कोरोना पहिचानमा निरन्तर खटिएकालाई नै कोरोना
रातदिन नभनी कोभिड १९ (कोरोना) पहिचानमा निरन्तर खटिएका स्वास्थ्यकर्मी नारायण अर्याललाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय गोरखाका कोरोना फोकल पर्सनसमेत रहेका अर्याल गत चैत पहिलो सातादेखि दुरदराज पुगेर स्वाब संकलन गर्नमा सक्रिय थिए ।
कोरोना महामारीका बेल सक्रिया भएर २४ सै घण्टा खटिएका अर्याललाई संविधान दिबसको अवसरमा नेपाल सरकारले जनसेवा श्री पदकले सम्मान समेत गरेको थियो । कोभिडको सुरु भएको बेला आरडिटी र त्यसपछि पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्न उनी गोरखाका चुमनुब्री बाहेकका सबै पालिका पुगेका थिए ।
बिहान ५ देखि राति १०/११ बजे सम्म स्वाब संकलन गर्ने, रिपोर्ट लिने, सम्बन्धित पालिकामा पठाउने काममा अर्याल सक्रिय थिए । ‘निरन्तर कोभिडको काममा खटिँदा अहिलेसम्म जोगिएको थिएँ, केहीदिन अघि शरीर दुखेपछि आफैँले आफ्नो स्वाब संकलन गरेर पठाएँ, रिपोर्ट पोजेटिभ आयो’ अर्यालले भने । पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्ने जनशक्ति अभाव भएपछि उनले सबै स्थानीय तहका स्वास्थ्यकर्मीलाई तालिम दिएका थिए ।
२१ जना जनशक्ति उनले तयार समेत गरे । ‘पछिल्लो समय जनशक्ति तयार भएपछि आफु गएर उहाँहरुलाई काम सिकाउथेँ’ उनले भने । फिल्डमा दिनभरि काम गरेर फर्केपछि पनि मातहतका कार्यालय, बिभिन्न संघ संस्था, सञ्चार माध्यममा जानकारी पठाउँदा पठाउँदै राती अबेरसम्म उनी काममा सक्रिय हुन्थे । गोरखा नगरपालिका ६ हरमटारी घर भएका अर्याललाई रातदिन कोरोना महामारीमा खटिँदा आफु जोगिन र परिवारलाई जोगाउन निकै सकस थियो ।
जतिसुकै डर त्रास हुँदा पनि एकदिन काम छाडेर बसेको अनुभव उनलाई छैन । पिसिआर रिपोर्ट पोजेटिभ आएपछि उनी अहिले होम आइशोलेसनमा छन् । ‘स्वास्थ्यमा खासै समस्या छैन’ उनले भने ।




