| आइतवार, कार्तिक २२, २०८३

गोरखाका चारवटा पालिकाद्वारा अस्पताल शिलान्यास, चारवटाले शिलान्यास गरेनन


अस्पताल नभएको स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने सरकारको योजना अनुसार गोरखाका चार स्थानीय तहले सोमबार अस्पताल शिलान्यास गरेका छन् । चुमनुब्री, शहिदलखन, अजिरकोट र बारपाक सुलिकोट गाउँपालिकाले अस्पताल निर्माणको प्रक्रिया थालेका हुन् ।

आरुघाट, धार्चे, भिमसेन थापा र सिरानचोक गाउँपालिकाले भने अस्पताल शिलान्यास गरेनन् ।
धार्चे गाउँपालिका वडा नम्बर ५ माछाखोलामा अस्पताल बनाउने पक्का भएको तर जग्गाको पुर्जा आउने प्रक्रिया बाँकी रहेकाले सोमवार शिलान्यास गर्न नसकिएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए ।

भिमसेन थापा गाउँपालिकाको वडा नम्बर ६ अश्राङमा अस्पताल बनाउने निधो भएपनि जग्गाको काम बाँकी रहेको अध्यक्ष इश्वर पाण्डेले जानकारी दिए । ‘पालिकाको नाममा पुर्जा आउन बाँकी भएकाले शिलान्यास गर्न सकेनौँ’ उनले भने ‘यो महिनाभित्र शिलान्यास हुन्छ ।’ सिरानचोक गाउँपालिका स्वास्थ्य शाखाका रामचन्द्र पाण्डेले जग्गा ब्यवस्थापन नहुँदा अस्पतालको शिलान्यास हुन नसकेको बताए ।

आरुघाट गाउँपालिकाको आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालको रुपमा बिकास गर्ने गाउँपालिकाको योजना थियो । उक्त ठाउँ बूढीगण्डकी आयोजनाबाट डुबान क्षेत्रमा पर्ने भएकाले नयाँ अस्पताल भबन निर्माण गर्न समस्या भएको प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालले बताए ।

‘अहिले भइरहेको संरचनामा दरबन्दी, उपकरण थपेर तत्काल १५ शैयाको सेवा दिन सकिन्थ्यो’ उनले भने ‘डुबान क्षेत्रमा पर्ने भएकाले नयाँ भबन बनाउन यहाँ सकिएन ।’ डुबान नपर्ने ठाउँमा अस्पताल बनाउन जग्गाको खोजी भईरहेको उनले बताए । ‘समस्याका बारेमा मन्त्रालयलाई लेखेर पठाउने योजना रहेको छ’, उनले भने, ‘दरबन्दी र उपकरण भयो भने अहिलेको संरचनाबाट नै १५ बेडको सेवा दिन सक्छौँ ।’

धार्चे गाउँपालिकामा पाँच बेड, भिमसेन थापा गाउँपालिकामा १० र अजिरकोट र आरुघाट गाउँपालिकामा १५ बेडको अस्पताल बनाउने सरकारले निणर्य गरेर स्थानीय तहलाई एकैसाथ सोमबार शिलान्यास गर्ने गरी तयारी गर्ने निर्देशन दिएको थियो । अधिकांश पालिकालाई स्वास्थ्य चौकीलाई स्तरोन्नती गरेर अस्पताल बनाउन भनिएको छ ।

तिब्बतसँग सिमाना जोडिएको चुमनुब्री गाउँपालिकाको वडा नम्बर ३ सिर्दिबासमा पाँच वेडको अस्पताल शिलान्यास भएको छ । गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले अस्पताल शिलान्यास गरेका हुन् । चालु वर्ष करिब ७० लाख रुपैयाँ बिनियोजन भएको छ । निर्माण सुरु गर्नुअघि पूरा गर्नुपर्ने प्राविधिक काम भने बाँकी रहेको उनले बताए ।

बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले वडा नम्बर ४ को हुँडिफाँटमा १५ बेड अस्पतालको शिलान्यास गरे । चालुवर्ष चार करोड दुई लाख बिनियोजन भएको अस्पतालको माटो परीक्षण, स्टमेट तयार गर्न भने बाँकी रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए । ‘सोमवार शिलान्यास भएको छ, निर्माणको काम सुरु हुन अझै एक डेढ महिना लाग्छ’, उनले भने ।

अजिरकोट गाउँपालिका वडा नम्बर ३ को भच्चेकमा अस्पताल बन्नेछ । गाउँपालिका अध्यक्ष फणिन्द्र धितालले भबनको शिलान्यास गरेका स्वास्थ्य शाखा प्रमुख शुरेस दवाडीले बताए । त्यहाँ पाँच बेडको अस्पताल बन्नेछ । स्वास्थ्य मन्त्रालयले तीन/चार वटा भबनको नमुना पठाएको र स्थानीय तहले आफु अनुकूल नमुनाको प्रयोग गरेर अस्पताल बनाउन सक्नेछन्

गोरखा नगरपालिका, पालुङटार नगरपालिका, गण्डकी गाउँपालिकामा भने अस्पताल बनाउन सरकारले सिफारिस गरेको छैन । दुईवटा नगरपालिकामा पहिल्यै अस्पताल छ भने गण्डकी गाउँपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्