| सोमवार, कार्तिक २३, २०८३

क्यानोनिङ तालिम व्यवसायिक बनोस

रचनात्मक, सिर्जनात्मक कार्यक्रमहरु गर्नेमा धार्चे गाउँपालिका सबैभन्दा अघि छ । यसमा दुईमत छैन । गाउँपालिकाका प्रमुखको सोच, लगन पनि नयाँ नयाँ कार्यक्रमहरु गर्नेतिर देखिन्छ ।
उनले सोचेका, लन्च गरेका कतिपय कार्यक्रमहरु धेरै दूरगामी प्रभाव राख्ने खालका पनि छन्, कतिपय कार्यक्रम क्षणिक, कलेबरी कार्यक्रम पनि छन् ।

हालै इपिसेन्टर ट्रेकिङ ट्रेल, इपिसेण्टर साइकल मार्ग बनाए । गुप्सीमा जीपलाइन, यमगाउँ, लप्सीबोटमा गोठाला पार्कको चर्चा आइरहेको छ । यिनले पनि दूरगामी अर्थ राख्लान्, तर कतिपय कार्यक्रम धेरै कलेबरी पनि छन् । जुन कार्यक्रम फोटो खिचाउन मात्र गरिएका हुन् कि भनेर सोच्न सजिलो पर्ने ।

हालै क्यानोनिङ तालिम सम्पन्न भएको छ । तालिम पाएकाहरुले आफ्नो प्रमाणपत्र देखाएर व्यवसायमा आवद्ध हुन पाउन् शुभकामना । तर यो तालिम लिएकाहरुले प्रमाणपत्र देखाएर कतै व्यवसाय गर्न सक्लान् ? उत्तर गहिरो र गम्भीर छ ।

यसअघि कतिपय तालिमहरु पनि त्यस्तै खालका भएका थिए । तिनीहरुमध्य चाहनेहरु सबैले सो तालिमको प्रमाणपत्र प्रयोग गर्न पाए ?
अहिलेका युवा, युवतीहरुमा रोजगारीको ठूलो भोक छ । यहाँ रोजगारी पाइन्छ कि, त्यहाँ पाइन्छ कि भनेर चाहर्नेहरुको भीड छ । कुनै तालिम लिएपछि रोजगारी पाइन्छ कि भन्ने उत्कट चाहना हुन्छ ।

तर उनीहरुले दुख गरेर कमाएको प्रमाणपत्रले केही अर्थ राखेन भने उनीहरु पिडितमाथि झन पिडित हुन्छन् । यस्तो अबस्था आउन नदिउँ ।
अहिले क्यानोनिङ तालिम लिएकाहरुलाई यथासक्य छिटो मान्यताप्राप्त निकायबाट माथिल्लो तहको(एड्भान्स) तालिम दिएर व्यवसाय गर्न सक्ने बनाउनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्