हाम्रा कार्यक्रम कति दूरगामी ?
गत असार पहिलो साता गोरखा क्याम्पसमा जिल्लास्तरको आइसोलेशन केन्द्र निर्माण गरियो, जहाँ करिब ७४ जना कोभिड १९ का बिरामी राख्ने लक्ष्य थियो । सो आइसोलेशन केन्द्र सञ्चालनका लागि जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा कार्यदल निर्माण गरिएको थियो ।
जिल्लाका १० वटा पालिकाबाट आर्थिक सहायता जुटाइएको पनि थियो । आरुघाट गाउँपालिकाबाहेक सबै पालिकाले ५/५ लाख रुपैयाँ अनुदान उपलब्ध गराए पनि थिए । थप सञ्चालन खर्च प्रदेश सरकारबाट जुटाइएको थियो । जिल्लामा धेरैजना बिरामी भएका बेला सो आइसोलेशन खचाखच थियो ।
आइसोलेशन केन्द्र सञ्चालन भएको डेढ महिना नबित्दै साउन दोस्रोसातामा फेरि जिल्ला विपद व्यवस्थापन समितिको बैठक बसी सो आइसोलेशन सञ्चालन गर्न अस्पताललाई आग्रह भयो । खर्च जुटाउन झञ्झट भएकाले अस्पताललाई दिन खोजिएको थियो ।
अस्पताल सञ्चालक समितिले जिम्मेवारी लिन आनाकानी गरिरहेको थियो । अन्ततः अस्पतालको समितिले सञ्चालन गर्ने जिम्मा त लियो, तर उसलाई पनि सञ्चालन गर्न सकस भयो । सो आइसोलेशनमा भएको खर्चमध्य धेरै खर्च रकम परिपूर्ति गर्न अहिलेसम्म पनि नसकेको जनाइएको छ ।
केही दिनअघि फेरि विपद व्यवस्थापन समितिको बैठक बस्यो र आइसोलेशन त्यहाँबाट हटाउने निणर्य भयो । होम आइसोलेशनमा बस्नेको संख्या बढिरहेको, क्याम्पस प्रशासनले बारम्बार आइसोलेशन हटाउन अनुरोध गरिरहेको लगायतका कारण देखाएर आइसोलेशन हटाउने निणर्य भएको हो ।
त्यहाँबाट आइसोलेशन हटाउनु पर्ने कारण जायज छन् तर यी जायज कारण पछि आउन सक्छ भन्ने बारे विपद व्यवस्थापन समितिले किन पूर्व समीक्षा गर्न सकेन ? हाम्रा सोच कति दूरगामी छन् भन्ने कुरा यसले संकेत गर्छ । त्यसैले अबका दिनमा हामीले गर्ने काम कत्तिको दूरदर्शी छन् भन्ने बारे सोच्नुपर्छ ।




