
धार्चेका युवतीहरुको क्यानोनिङमा जम्ने रहर
धार्चे गाउँपालिका ५ गुम्दाकी रमिता गुरुङले क्यानोनिङको आधारभूत तालिम लिईन् । अब उनलाई थप तालिम लिएर दक्ष बन्ने रहर छ । मनास्लु पदमार्ग आसपास आफ्नै गाउँघरको खोलामा पर्यटकलाई क्यानोनिङ गराएर ब्यवशायिक बन्ने उनको चाहना छ ।
‘थप तालिम लिएर काम नै यही गर्ने रहर छ’ उनले भनिन् ‘पहिलो पटक पानीमा पस्दा निकै डर लागेको थियो, तालिम सकिँदासम्म अहिले उत्साह थपिएको छ ।’
रमितासँगै धार्चे गाउँपालिका वडा नम्बर ४ र ५ की निरुता गुरुङ, ईन्जिला गुरुङ, कल्पना गुरुङ, सुसिता गुरुङ, लिस्नुमाया गुरुङ, सन्ध्या गुरुङले तालिम लिएका छन् । उनीहरु सबैको क्यानोनिङमा जम्ने रहर छ ।
५० मिटर माथिसम्म पानी झरिरहेको झर्नामा क्यानोनिङ गरेका युवतीहरु तालिमपछि निकै उत्साहित छन् । धार्चे गाउँपालिकाले वडा नम्बर ७ को नौलीखोला झरनामा सात जना महिला सहित २० जनालाई तालिम दिइएको धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए ।
‘मनास्लु पदमार्गमा पर्ने नौलीखोलाको झरनामा क्यानोनिङको संभावना भएकाले हामीले यहाँको प्रचार प्रसार र प्रर्वद्धन गर्न स्थानीय स्तरमा क्यानोनिङ गाईड उत्पादन गर्ने योजना बनाएका हौँ’ अध्यक्ष गुरुङले भने ।
धार्चे गाउँपालिकाको अन्य झरनामा पनि क्यानोनिङको संभाब्यता अध्ययन गरिने र जनशक्तिलाई गाउँपालिका भित्रै रोजगारी मिल्ने उनले बताए । ‘अहिले आठ जना राम्रो तालिम गर्नेहरुलाई ‘एड्भान्स कोर्स’ को लागि थप तालिम दिने योजनामा छौँ’ अध्यक्ष गुरुङले भने ।
तालिममा सहभागी धार्चे ४ लाप्राकका वडा अध्यक्ष राज गुरुङले क्यानोनिङले पर्यटक आकर्षित गर्न सकिने बताए ।

‘तालिम लिँदा हेर्न आउने स्थानीय र बाटो हिड्नेहरुले छिटो सुरु गर्नुपर्यो भन्नुभएको छ’ उनले भने ‘पदमार्गको छेउमा भएकाले कोभिड पछि पर्यटक आउन थालेपछि क्यानोनिङ ब्यवशायिक रुपमा चल्छ ।’
उक्त पदमार्ग भएर वार्षिक पाँच हजार भन्दाबढि बिदेशी पर्यटक मनास्लु क्षेत्र जाने गर्छन भने आन्तरिक पर्यटक पनि बढ्न थालेका छन् ।
धार्चे गाउँपालिकाले तातोपानीदेखि लापुबेशीसम्म र्याफ्टिङ संचालनका लागि सम्भाब्यता गरिरहेको अध्यक्ष सन्तोष गुरुङले बताए ।




