| सोमवार, कार्तिक २३, २०८३

बेलायतमा एक दिनमै ६ सयभन्दा बढी कोरोना संक्रमितको मृत्यु

बेलायतमा शुरु भएको कोरोनाको दोस्रो लहरपछि पहिलोपटक एक दिनमा मृत्यु हुनेको संख्या ६ सय नाघेको छ । कोरोनाका कारण मृत्यु हुनेको यो संख्या करिब सात महिना पछिको उच्च भएको सरकारी तथ्याँकले  देखाएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले मंगलबार सार्वजनिक गरेको तथ्याँकअनुसार गएको २४ घन्टामा थप ६०८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु हुनेमा सबैभन्दा कम उमेरको १० वर्ष र बढी उमेरको १०० वर्षबीचको रहेको बताइएको छ । ३१ वर्षीय एक मृतकमा भने कुनै पनि स्वास्थ्य समस्या नरहेको उल्लेख छ । योसँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५५ हजार ६०८ पुगेको छ ।

मृतक संख्या बढे पनि कोरोना संक्रमितको संख्या भने आज मंगलबार उल्लेखनीय रुपमा घटेको छ । विगतका दिनहरुको तुलनामा संक्रमित संख्या झन्डै आधा कम रहेको छ । गएको २४ घन्टामा थप ११ हजार २९९ जना मात्र नयाँ संक्रमित थपिएको सरकारी तथ्याँकमा उल्लेख छ । कोरोना संक्रमणको दोस्रो लहर शुरु भएयता एक दिनमा ३३ हजारसम्म संक्रमित थपिएका छन् । तर केहि हप्तायता संक्रमित  हुनेको संख्या २० देखि २४ हजारको हाराहारीमा रहँदै आएपनि आज यो संख्या घटेर ११ हजारमा झरेको हो । बेलायतमा संक्रमितको संख्या १५ लाख ३८ हजार ७९४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्