| आइतवार, कार्तिक २२, २०८३

बारपाक सुलीकोटमा पहिलो चौमासिकमा ६५ लाखको पूर्वाधार विकासको काम सम्पन्न

बारपाक सुलीकोट गाउँपालिकाले साउन महिनायता ६५ लाख रुपैयाँ बराबरको पूर्वाधार विकासको काम सम्पन्न भएको छ । सडक निर्माण, मर्मत तथा स्तरोन्नतिका लागि ६५ लाख रुपैयाँ खर्च भइसकेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका पूर्वाधार विकासका लागि २० लाख रुपैयाँ खर्च भइसकेको छ भने गाउँपालिका मोटरबाटो शीर्षकमा पनि २० लाख रुपैयाँ खर्च भइसकेको योजना तथा अनुगमन शाखाका अजय सुवेदीले जानकारी दिए ।

साथै वुद्धपार्क निर्माणका लागि १० लाख, लाँकुरीबोट क्वारेण्टाइनका लागि १० लाख र देउराली मोटरबाटो सरसफाइका लागि पाँच लाख रुपैयाँ खर्च गरिएको सुवेदीले जानकारी दिए । यी सबै काम उपभोक्ता समितिमार्फत गरिएको उनको भनाइ छ ।

त्यस्तै गाउँपालिकाले २३ वटा कृषि समूहलाई स्थानीय जातको कुखुराको चल्ला वितरण गरेको जनाएको छ । किसानहरुलाई १६ सय ११ वटा चल्ला प्रदान गरेको पशुसेवा शाखाका अमृत पोखरेलले जानकारी दिए ।

साथै चल्लालाई बिभिन्न रोग रोकथामका लागि ५० भाइल खोप पनि प्रदान गरिएको उनले बताए । स्थानीय जातको कुखुरा प्रवद्र्धन कार्यक्रमका लागि एकलाख ६० हजार रुपैयाँ खर्च गरिसकिएको उनले बताए ।

‘निर्वाहमुखी किसानलाई व्यवसायिक किसान बनाउने, स्थानीय जातको कुखुरालाई प्रवद्र्धन गर्ने र पालिकालाई स्थानीय जातको कुखुरामा आत्मनिर्भर बनाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो’, पोखरेलले भने ।

चार हजार वटा बाख्रालाई पिपिआर रोगबाट बचाउन भ्याक्सिन लगाइएको पनि पोखरेलले बताए । बर्षेनी उपभोक्ता समिति परिवर्तन भइरहँदा समितिले गर्ने काम प्रभावकारी नभएको आर्थिक प्रशासन शाखाकी कल्पना पौडेल रेग्मीले बताएन् ।

‘बर्षेनी नयाँनयाँ कार्यक्रम आउँछन् । नयाँ कार्यक्रमलाई नयाँ उपभोक्ता समिति बन्छन्’, उनले भनिन्, ‘अभिमुखीकरण, सशक्तिकरण गर्यो, अनि अर्कोबर्ष फेरि नयाँ समिति बन्छ । सँधै नयाँ नयाँ समिति बनाउँदा कार्यक्रमहरु प्रभावकारी हुदैनन् ।

प्रतिक्रिया दिनुहोस्