
पालुङ्टार ६, ७ र ८ मा लिची ब्लक कार्यक्रम लागु
पालुङटार नगरपालिकाको वडा नं. ६, ७ र ८ लाई लिची ब्लकको रुपमा विकास गरिने भएको छ । साबिकको धुवाँकोट, च्याङ्ली र गाईखुर गाविसको चार हजार रोपनीभित्रका लिची खेती राम्रो हुने क्षेत्रलाई समेटेर लिची ब्लक कार्यक्रम अघि बढाइएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ ।
लिची ब्लक कार्यक्रम सञ्चालन गर्न संयुक्त लिची ब्लक सञ्चालक समिति गठन गरिएको कृषि ज्ञान केन्द्रकी प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले जानकारी दिइन् । ‘लिची ब्लक कार्यक्रम अघि बढाउन समितिसंग कार्यक्रम सम्झौता भइसकेको छ’, थापाले भनिन्, ‘दुई हजार रोपनी भन्दा धेरै क्षेत्रमा खेती भएमा ब्लक घोषणा गर्न सकिन्छ ।
ती तीन वडामा चारहजार रोपनी भन्दा धेरै क्षेत्रफलमा लिची खेती हुने भएकाले सो क्षेत्रलाई लिची ब्लक घोषणा गरेर कार्यक्रम अघि बढाएका हौं ।’ यसबर्ष लिची खेती प्रवद्र्धन गर्न विरुवा वितरण, सिँचाई, औजार तथा उपकरण खरिदका कार्यक्रम सञ्चालन गरिने उनले बताइन् ।
यसअघि पालुङटार नरपालिकाले लिची पकेट क्षेत्र घोषणा गरी प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरेको थियो । ‘हाम्रो नगरपालिकाको रातामाटे, डुँडाटार, विरुवाटार, पौवाटार, खत्रीटार क्षेत्रमा लिची असाध्यै राम्रो हुन्छ’, नगरपालिकाका मेयर दीपकबाबु कँडेलले भने, ‘त्यसैले हामीले पकेट क्षेत्र घोषणा गरी प्रवद्र्धनात्मक कार्यक्रम गरेका थियौं ।
अहिले प्रदेशले ब्लकको कार्यक्रम लागु गर्न सम्झौता गरिसकेको छ । हामी पनि यस कार्यक्रममा सहकार्य गर्नेछौं ।’ नगरपालिकाले विशेष गरी संकलन केन्द्र बनाई बजार ब्यबस्थाको काममा सघाउने मेयर कँडेलले बताए ।
लिची ब्लक कार्यक्रम सञ्चालन गर्न बिरुवाटारका भोजबहादुर गुरुङको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति गठन गरिएको छ । समितिले हाल तथ्याङ्क सङ्कलनको काम गरिरहेको समितिका सचिव रणबहादुर सुवेदीले बताए ।
‘खुद कति जना किसानले लिची खेती गर्छन् ? उनीहरुलाई कतिकतिवटा लिचीका बिरुवा, कुन कुन औजार आवश्यकता छ भन्ने बारे तथ्याङ्क सङ्कलन गर्दैछौँ’, सुवेदीले भने, ‘आवश्यकता पहिचान भइसकेपछि कृषि ज्ञानकेन्द्रमा सम्झौता भएअनुसारको कार्यक्रम कार्यान्वयनको चरणमा जानेछौं ।’
सो रकमबाट नर्सरी निर्माण गर्ने, विरुवा खरिद गर्ने, सिँचाइका लागि प्लास्टिक पोखरीलगायत पूर्वाधार निर्माण गर्ने, स्प्रेयर, भर्याङ, क्रेटलगायतका उपकरण खरिद गर्ने उनले बताए ।
कृषि ज्ञानकेन्द्रले लागत साझेदारी कार्यक्रम अन्तर्गत सो बजेट निकासा गर्ने वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले बताइन् ।




