| सोमवार, कार्तिक २३, २०८३

गाउँपालिका र स्थानीयको सहमतिमा प्राकृतिक सम्पदा दोहन

शिव उप्रेती :


विकासका लागि भनेर २ वर्ष अगाडि जिल्ला समन्वय समितिका प्रमुख, सिरानचोक गाउँपालिकाका अध्यक्ष, वडा अध्यक्ष र ठेकेदार सबै मिलेर वनको बीचमा ढुङ्गाखानी चलाउन दिने निणर्य गरे ।

सिरानचोक गाउँपालिका वडा नं. ८ नयाँगाउँ र ठोट्नेरी साँधको ल्होसे वनमा ठेकेदार कम्पनीले दुईबर्षदेखि अवैध रुपमा ढुङ्गाखानी सञ्चालन गरिरहेको छ । घना जङ्गलभित्र लामो समयदेखि ढुङ्गाखानी सञ्चालन गरेका कारण गाउँमा पहिरोको त्रास बढेको छ ।


न कानुन अनुसार कुनै अनुमति लिए न वातावरणीय प्रभावको मूल्याङ्कन नै भयो । ठेकेदारले स्थानीय विकासमा केही लगानी गरिदिदा अधिकांश स्थानीय बासिन्दा पनि प्राकृतिक सम्पदाको गैरकानुनी दोहनमा मौन छन् । यो हो तै चुप मै चुप हुने गोरखाको नमुना विकास शैली जुन निरन्तर चलिरहेको छ ।


सोही गाउँपालिकाकाको वडा नं. १ र ८ को साँधमा पर्ने चैनपुरको करिब चार रोपनी वनक्षेत्र ओगटेर अर्को ढुंगाखानी सञ्चालित छ । खानी तथा खनिज पदार्थ नियमावली २०५६ को परिच्छेद ४, १९ को ग अनुसार सार्वजनिक बाटोको दायाँबायाँ २५ मिटरभित्र खानी सञ्चालन गर्न पाइदैन । तर यहाँ लुइँटेलवाट भच्चेक जाने सडकलाई माझमा पारेर कत्ति पनि सडक क्षेत्र नछाडी खानी चलाइएको छ । सो खानीका कारण बर्खामा पहिरो जाने गरेको त्यहाँका बासिन्दा गुनासो गर्छन् ।

त्यस्तै सिरानचोक गाउँपालिका वडा नं. ६ को खहरेमा अवैध क्रसर उद्योग सञ्चालनमा छ । दरौंदी बगरमा सञ्चालित सो क्रसर उद्योगले दरौँदी नदी किनारका ढुंगा, गिटी, बालुवा दोहन गरिरहेको छ ।


खानी सञ्चालन गर्न प्रारम्भिक वातावरणीय अध्ययन(आईई) गर्नुपर्ने, खानी विभागमा दर्ता गर्नुपर्ने व्यवस्था छ । क्रसर उद्योग सञ्चालन गर्न विभिन्न प्रक्रिया पूरा गरेपछि उद्योग विभागमा दर्ता गर्नुपर्ने प्रावधान छ, तर दुईवटै खानी र क्रसर आधारभूत प्रक्रिया पनि नपुर्‍याई दर्ता पनि नगरी सञ्चालन भएका छन् । दर्ता नभएका कारण राजस्व असुल गर्न पनि नमिलेको गाउँपालिकाका अध्यक्ष राजु गुरुङ बताउँछन् ।


राजस्व छलेर अवैध रुपमा सञ्चालित ती उद्योग तथा खानीका कारण प्राकृतिक सम्पदाको दोहन भइरहेको छ ।
दुईवटै ढुङ्गाखानी लामा कन्स्टूक्शनले सञ्चालन गरेको हो । लुइँटेल, भच्चेक, सिरानडाँडा सडक कालोपत्रे गर्ने प्रयोजनका लागि जंगलमा ढुङ्गाखानी सञ्चालन गरेको कन्स्टूक्शनले जनाएको छ ।


अनुमति लिएर सञ्चालन गरेको हुनसक्ने अनुमान गर्दै स्थानीय बासीले जंगलमा पहिरो गए पनि चासो नराखिएको बताए । ‘यो बर्खामा चैनपुरको ढुङ्गाखानी भन्दा तल हेर्दैमा कहालीलाग्दो पहिरो गयो’, स्थानीय दुर्गामान तामाङले भने, ‘खानीका कारण भीरसिङका गाउँलेलाई धेरै जोखिम भयो । त्यहाँ विद्युतको सवस्टेशन राख्ने भन्ने थियो । अब यसरी पहिरो बग्ने ठाउँमा अब सबस्टेशन राख्छन् कि राख्दैनन् कुन्नि । पहिरोले सवस्टेशन लग्यो भने दुर्गम गाउँका बासिन्दाले विजुली बाल्न पाउँदैनन्’


सिरानचोक गाउँपालिकाकै वडा नं. ६ खहरेमा दरौँदी क्रसर उद्योग अवैध रुपमा सञ्चालित छ । मध्यपहाडी लोकमार्गलाई निर्माण सामग्री उपलब्ध गराउने बहानामा कुनै पनि निकायमा दर्ता नगरी क्रसर उद्योग सञ्चालन गरिएको हो । मध्यपहाडी लोकमार्गको स्तरोन्नतिको काम रोकिएको बर्ष बितिसकेको छ तर क्रसरले दरौंदी नदीका ढुङ्गा, गिटी दोहन गरिरहेको छ ।

जिल्ला समन्वय समिति, गाउँपालिका र वडा कार्यालयको आन्तरिक सहमति र समन्वयमा अवैध रुपमा ढुङ्गाखानी र क्रसर उद्योग सञ्चालन भइरहेको स्थानीयबासी दावी गर्छन् । ‘यो त जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङको गाउँ पनि हो ।

त्यसैले उहाँ पनि आउनु भएको थियो । गाउँपालिकाका अध्यक्ष, समन्वयका प्रमुख, वडाअध्यक्ष दुई दिनसम्म बैठक गरेर ढुङ्गाखानी चलाउन दिनुभएको हो’, चैनपुरका आकास तामाङले भने, ‘हामी त अनपढ, केही थाहा छैन । उहाँहरुको बीचमा के के सल्लाह भएको छ कुन्नि ? सरकारी काम होला, सरकारी मान्छेले मिलाएकै होलान् भनेर ढुक्क भइयो । कसैले पनि वास्ता गरेनौँ ।’


ल्होसे वनमा सञ्चालन गरिएको ढुङ्गाखानीका कारण गाउँमा विद्युतीकरण गरिएको ट्रान्समिशन लाइनको पोल ढलेको चिप्लेटीका धनकाजी थपलिया बताउँछन् । ‘यहाँ मात्र किन यति ठूलो क्षति हुनेगरी खानी चलाएका भनेर ठेकेदारलाई सोधेको थिएँ । यत्तिको राम्रो र धेरै ढुङ्गा अन्त पाइँदैन भने’, चिप्लेटी खानेपानी उपभोक्ता समिति, विद्युत उपभोक्ता समितिलगायतका समितिका अध्यक्ष समेत रहेका थपलियाले भने, ‘ढुङ्गा झिक्दा, झिक्दै यति ठूलो ओढार बनाएका छन्् कि, देख्दैमा डर लाग्छ ।’

यसअघि ठोट्नेरीले प्रयोग गर्दै आएको सो वन क्षेत्र पछिल्लो चरणमा नयाँगाउँका बासिन्दाले दाबी गरे । ढुङ्गाखानी चलेपछि ठोट्नेरीले बिरोध गर्ला भनेर नयाँगाउँले कुरेर बसेको र नयाँगाउँले कुरो उठाउला भनेर ठोट्नेरीले कुरेकोे हुनसक्ने थपलिया तर्क गर्छन् ।

नयाँगाउँका दुर्गामान तामाङ भने ठोट्नेरीका बासिन्दालाई बिभिन्न प्रलोभनमा पारेर ठेकेदारले अबैध रुपमा ढुङ्गाखानी सञ्चालन गरेको आरोप लगाउँछन् । ‘मुख्यरोडबाट ठोट्नेरीसम्मको रोड ग्राभेल गरिदिने, ठोट्नेरीमा गुम्बा बनाइदिने भन्ने सहमति भएको रहेछ त्यसैले ठोट्नेरीका बासिन्दा चुप बसेका रहेछन्’, उनी भन्छन्, ‘ठेकेदारले एकसय बोरा सिमेण्ट पनि दिएको रहेछ । १६ मुठा रड पनि पाइसकेका रहेछन् ।

तर अहिलेसम्म गुम्बा पनि बनाएनन् । सिमेण्ट पनि बिग्रिसक्यो भन्ने सुनेको छु । हामीले त धेरैपछि थाहा पायौँ, अनि बिरोध गर्‍यौँ ।’ आफ्नो गाउँको वनमा ढुङ्गाखानी चलाएको तर ठोट्नेरीबासीलाई मात्र सहयोग गरेकोमा उनले आपत्ति जनाए ।

चैनपुरमा ढुङ्गाखानी चलाएबापत पनि ठेकेदारले स्थानीयको मुखबुझो लगाएका छन् । युवाहरुलाई खेलमैदान र गाउँलेका लागि सडक बनाइदिएपछि सबैजना चुप लागेको स्थानीय बासीको भनाइ छ । ‘ठेकेदारले सुचन्द्र युवाक्लवलाई एउटा खेल मैदान बनाइदियो ।

फुर्केडाँडा जाने एक किलोमिटर रोडको नयाँ ट्रयाक खनिदियो । भीरसिङ जाने दुई किलोमिटर नयाँ ट्रयाक पनि खनिदियो । बर्खामा बिग्रिएको, भत्किएको जौबारी जाने सडक दशैँअघि सफा गरिदियो । त्यसपछि त सबैजना तैँ चुप मै चुप भइहाले’, स्थानीय सुकबहादुर तामाङले भने, ‘यत्ति सहयोग पनि दुई बर्षसम्म मागेका थिएनौँ ।

अहिले पो माग्यो भने पाइन्छ भन्ने सुन्यौँ अनि मागेका हौँ ।’ यसअघि कसैलाई पनि केही नदिई ढुङ्गा उत्खनन भइरहेको उनले बताए । ढुङ्गाखानी र क्रसर उद्योग चलाएवापत गाउँपालिकाले राजस्व संकलन नगरेको गाँपालिकाका अध्यक्ष राजु गुरुङ स्वीकार गर्छन् ।

यसअघि ती खानीबाट स्थानीयले ढुङ्गा निकालेर बेच्थे त्यसबापत सरकारलाई प्रतिटिप पाँचसय रुपैयाँ राजस्व तिर्नुपरेको अर्का स्थानीय प्रेम तामाङले बताए । तर अहिले कुनै निकायमा राजस्व नतिरी घना जङ्गलभित्रको डाँडा फोरिरहेको उनको गुनासो छ ।

चित्रेपोखरीबाट सिरानडाँडासम्मको सडक कालोपत्रे गर्नका लागि भनेर ढुङ्गाखानी सञ्चालन गरेकोमा अहिले चोरकाटे छोप्राक सडकमा पनि प्रयोग गरेको अर्का स्थानीय प्रेमबहादुर तामाङले बताए ।

‘हामीलाई कसैले भनेको त होइन, तैपनि चित्रेपोखरीबाट सिरानडाँडा सम्म यो ठेकेदारले सडक कालोपत्रे गर्नका लागि ठेक्का लिएको हो । आफ्नै घरअघिको बाटो पिच गर्नका लागि ढुंगा झिक्छन् भने झिकुन् भनेर चुप लागेर बसेका थियौँ’, तामाङले भने, ‘अहिले त चोरकाटे छोप्राक सडक पिच गर्न पनि उही ठेकेदारले ठेक्का पारेछ ।

त्यहाँ पनि हाम्रो वनको ढुङ्गाखानीबाट ढुङ्गा लगिरहेको छ ।’ ढुङ्गा झिक्दै जाँदा वन क्षेत्र सखाप भएको, पहिरोको डर भएको उनको गुनासो छ ।


प्रक्रिया पूरा नभै वनक्षेत्रभित्र ढुङ्गाखानी सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष राजु गुरुङ स्वीकार गर्छन् । ‘आईई पनि गरेको छैन । आईई नगरेपछि दर्ता पनि गरेको छैन, दर्ता नभएपछि राजस्व पनि तिर्दैनन्’, उनले भने, ‘तर खानी चलिरहेको छ ।

क्रसर पनि चलिरहेको छ । विकासका आयोजनालाई ढुङ्गा, गिटी, बालुवा चाहिएको हुन्छ । ढुंगा खानी, क्रसर सञ्चालन गर्न नदिउँ भने निर्माणको काम अघि बढ्दैन । दिउँ भने संरक्षणकर्मीहरु पालिकाले दोहनलाई प्रश्रय दियो, संरक्षणका लागि वास्ता गरेन भन्छन् ।

हामी दोहोरो चेपुवामा छौँ ।’ आईई, इआईए प्रक्रियाहरु लामा र झञ्झटिला भएकाले कार्यान्वयन गर्न कठिन भएको गाउँपालिकाको तर्क छ । ‘गाँठी कुरा वन ऐनमा अड्किएको छ’, अध्यक्ष गुरुङ भन्छन्, ‘ठेकेदारहरु निर्माण सामग्री सहजै उपलब्ध भयो भने निर्धारित समयमै काम सक्छु भन्छन् । तर यहाँ आईईको प्रक्रिया पूरा गर्नै एक बर्ष लाग्छ ।

त्यसैले वन ऐन संशोधन नभएसम्म स्थानीय सरकारलाई काम गर्न कठिन छ ।’ अवैध रुपमा खानी तथा क्रसर चले पनि बाध्य भएर चुप लाग्नु परेको उनको तर्क छ । वनक्षेत्रभित्र खानी सञ्चालन बारे आफू अनभिज्ञ रहेको डिभिजनल वन अधिकृत अशोक श्रेष्ठले बताए । ‘कहाँ रहेछ, कसरी सञ्चालित रहेछ, म बुझेर जानकारी गराउँला’, श्रेष्ठले भने ।


भूकम्पपछि गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको भूकम्पीय आपतकालीन सहायता परियोजनाले ७० करोड रुपैंया लागतमा लुइँटेलदेखि भच्चेकसम्म (द्रव्यशाह मार्ग)को ३० किलोमिटर सडक कालोपत्रे गरेको परियोजना प्रमुख रामशरण आचार्यले बताए । अँबुवादेखि भच्चेकसम्म(द्रव्यशाह राजमार्ग)को ५२ किलोमिटरमध्य लुइँटेल भञ्ज्याङ देखि तार्केडाँडासम्म पहिलो प्याकेजको १८.५ किलोमिटर सडक लामा, अमर जेभी कन्स्ट्रक्शन र तार्केडाँडादेखि नयाँगाउँसम्मको १३ किलोमिटर सडक लामा कन्स्ट्रक्शनले निर्माण सम्पन्न गरेका हुन् ।
एशियाली विकास वैंकको ७० करोड रुपैंया ऋण सहयोग र स्वीस सरकारको प्राविधिक सहयोगमा सो सडक कालोपत्रे गरिएको हो ।


निर्धारित समयसीमाभित्र कालोपत्रे गरिसक्नु पर्ने भएकाले गाउँपालिका र स्थानीयबासीसँग समन्वय र सहमति गरेर खानी सञ्चालन गरिएको निर्माण कम्पनीका जनक भट्टले जानकारी दिए । ‘हामीले पालिका र स्थानीयबासीसँग समन्वय र सहमति गरेर त्यहाँको ढुंगा निकालेका हौं’, भट्टले भने, ‘सडकबाट २५ मिटर दायाँबायाँ छाडेर ढुंगा उत्खनन गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्