
गोरखाका सीमा क्षेत्रका बासिन्दालाई चिनियाँ सरकारको राहत सामग्री
कोरोना र लकडाउनका कारण समस्यामा परेका उत्तरी गोरखाका तिब्बती सीमावर्ती गाउँबासीलाई चिनियाँ सरकारले राहत सामग्री प्रदान गरेको छ ।
चुमनुब्री गाउँपालिका वडा नं. १ सामागाउँ, साम्दो तथा वडा नं. ७ छेकम्पारका जनप्रतिनिधिहरुलाई सीमानामा बोलाई राहत सामग्री प्रदान गरेको हो ।
चिनियाँ सरकारी अधिकारीहरुले मैदा, चामल, घ्यू, चियापत्ती, तेल, मास्क, सेनिटाइजर, पिपिई लगायतका सामग्री प्रदान गरेको वडा नं. १ का सदस्य मिङ्मार लामाले जानकारी दिए ।
‘प्रत्येक घरलाई एक बोरा मैदा, चामल एक बोरा, घ्यू एक पोका, चिया एक बाकस, तेल पाँच लिटर, सरफ चार पोकाका दरले पुग्ने गरी दिएका थिए’, लामाले भने, ‘मास्क, सेनिटाइजर, पिपिई लगायतका स्वास्थ्य सामग्री पनि दिएका थिए ।’ पिपिई एकसय २० पिस पाएको र अरु वडालाई पनि पठाएको उनले बताए ।सामागाउँमा करिब दुईसय घरधुरी रहेका छन् ।
त्यस्तै वडा नं. ७ साबिक छेकम्पार गाविसका नौवटा टोलका लागि पनि चिनियाँ सरकारले सहायता सामग्री प्रदान गरेको छ । तर राहत सामग्री ज्यादै न्यून रहेको वडा अध्यक्ष पासाङफुञ्जो लामाले बताए । ‘हाम्रो वडामा त एकएक मुठी पनि नपुग्ने गरी दियो’, उनले भने, ‘किन यति थोरै सामग्री दिएको भनेर सोधेको थिएँ ।
जनप्रतिनिधिहरुका लागि मात्र हो भनेर जवाफ दिए । तर सर्वसाधारण नागरिकलाई नदिई हामीले मात्र राख्न हुन्न । बाँडौँ भने एकेक मुठी पनि पुग्दैन ।’ छेकम्पारको मुलाढाज्यान नाका बाह्रै महिना खुल्ला हुने गर्छ । सामागाउँको रुइला नाका भने बर्षमा एक पटक १५ दिनका लागि मात्र खुल्ने भएकाले धेरै सहयोग गरेको चिनियाँ अधिकारीले जवाफ दिएको उनले बताए ।
सहायता सामग्री ग्रहण गर्नका लागि स्थानीय युवाहरुको साथमा वडा अध्यक्ष लगायतका जनप्रतिनिधिहरु सीमा क्षेत्रमा पुगेका थिए ।
कोरोना महामारीपछि यी दुई नाका चिनियाँ सरकारले बिगत एक बर्षदेखि बन्द गरेको छ ।




