
उत्तरी गोरखामा फेरि हिमपात
उत्तरी गोरखाको सामागाउँ, छेकम्पार क्षेत्रमा हिमपात भएको छ । मौसम बदलिएसँगै तल्लो गोरखामा जाडो बढेको छ भने माथिल्लो गोरखाको चुमनुब्री गाउँपालिका वडा नं. १ सामागाउँ तथा वडा नं. ७ छेकम्पारका बिभिन्न गाउँबस्तीमा सोमबारदेखि हिउँ पर्न सुरु गरेको स्थानीयले बताएका छन् ।
‘सोमबारदेखि सामागाउँमा हिउँ पर्न सुरु गरेको छ’, चुमनुब्री १ का वडा सदस्य मिङ्मार लामाले भने ।
लामाका अनुसार धेरै बाक्लो हिउँ भने परेको छैन । तर लेकदेखि गाउँसम्म सेताम्मै भएको छ । हिउँ पर्न थालेपछि जनजीवन प्रभावित भएको उनले बताए ।
गतबर्षभन्दा यसबर्ष चाँडै हिउँ परेको उनको भनाइ छ । बिगत बर्षहरुमा पुस, माघ, फागुनतिर मात्र हिउँ पर्ने गरेकोमा यसबर्ष कात्तिक, मंसीरमै हिउँ परेको उनले बताए ।
बेलैमा हिउँ परेपछि खेतीपाती राम्रो हुने भन्दै स्थानीयबासी खुशी भएको उनले बताए ।




