
मान्बुमा ठोट्नेरीखोला झोलुङ्गे पुलको उद्घाटन
आरुघाट गाउँपालिका वडा नं. २ को ठोट्नेरीखोला झोलुङ्गे पुलको बिहिबार उद्घाटन गरिएको छ । ८६ मिटर लामो सो पुलको बिहिबार एक समारोहका बीच गाउँपालिकाका अध्यक्ष पूर्ण दाहालले उद्घाटन गरेका हुन् ।
हिमाली क्षेत्र विकास केन्द्रले ४९ लाख ९१ हजार तीनसय ६७ रुपैयाँका लागतमा सो पुल निर्माण गरेको केन्द्रका कार्यक्रम संयोजक वीरबल घलेले जानकारी दिए ।
ठोट्नेरीखोला झोलुङ्गेपुल उपभोक्ता समितिका अध्यक्ष राजकुमार ढकालको अध्यक्षतामा आयोजित पुल उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष दाहाल, वडाअध्यक्ष सोमप्रसाद घले, स्थानीय राजनीतिक अगुवा बकबहादुर लामालगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
बिगतमा गाई, भैँसीलगायतका पशु चौपाया बगाउने गरेको खोलामा झोलुङ्गे पुल बनेपछि मान्छेलाई र पशुचौपायालाई आवतजावत गर्न सहज भएकोमा उनीहरुले खुशी व्यक्त गरेका थिए । स्थानीय शंखदेवी आधारभूत विद्यालय आउने, जाने विद्यार्थीलाई पनि पुल निर्माण भएपछि सजिलो हुने उनीहरुको भनाइ थियो ।
सो झोलुङ्गेपुलले मान्बुको ठोट्नेरीबाट छापगाउँ हुदै धादिङको बसेरी गाउँ आवतजावतमा सजिलो हुनेगर्छ ।




