
प्रशासन र नगरपालिकाद्वारा बजार अनुगमन
जिल्ला प्रशासन कार्यालय गोरखा र गोरखा नगरपालिकाले बजार क्षेत्रमा निरन्तर बजार अनुगमन भईरहेको जनाएको छ । बुधवार जिल्ला अनुगमन समितिले गोरखा सदरमुकामको नयाँ बजार, लक्ष्मीबजार क्षेत्रको छ वटा पसल र पेट्रोल पम्पको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा मूल्यसुची नभएको, दर्ता प्रमाण पत्र नबिकरण नगरिएको, होडिङबोर्ड नराखिएको पाइएको निमित्त प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताईन । ‘यो नियमित अनुगमन हो, एक पटकका लागि सचेत गराएका छौँ’ उनले भनिन् ‘फेरी पनि अटेरी गरे कारवाही गर्छौँ ।’ जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत दामोदर शर्मा नेतृत्वको टोलीले बजार अनुगमन गरेको हो ।
गोरखा नगरपालिकाले केही दिन यता निरन्तर बजार अनुगमन गरिरहेको प्रशासकिय अधिकृत चेतप्रसाद अम्गाईले बताए । ‘हामीले फुटपाथमा राखेका रङ, भाई मसला, लगायत सामग्री नराख्न पटक पटक आग्रह गर्दा अटेर गर्नेहरुको जफत गरेका छौँ’ उनले भने ‘दुई पटक जरिवाना गरेर छाड्छौँ, नराख्न आग्रह गर्छौँ, फेरी राखेमा सामग्री जफत गरेर थप कारवाही अघि बढाउँछौँ ।’
चाडबाड नजिकिएसँगै गोरखा सदरमुकामको बजार क्षेत्रका फुटपाथमा टिका, मसला, लुगा कपडा बिक्रीका लागि राख्ने गरिएको छ । सर्वसाधारणलाई पैदल हिड्न समेत समस्या भएको गुनासोपछि तीन दिन यता निरन्तर अनुगमन भईरहेको अधिकृत अम्गाईले बताए ।




