| सोमवार, कार्तिक २३, २०८३

आर्थिक अनियमितताको आरोपमा व्रह्मचारिणीका प्रअ पदबाट बर्खास्त, अध्यक्ष पनि हटे

आर्थिक अनियमितता गरेको आरोपमा बारपाक सुलीकोट गाउँपालिका ८ पन्द्रुङको व्रह्मचारिणी आधारभूत विद्यालयका प्रअ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुवैजना पदमुक्त भएका छन् । पटक पटक आर्थिक अनियमितताको आरोपमा मुछिएको र स्पष्टिकरण सोध्दा पनि बेवास्ता गरेको आरोपमा गाउँपालिका भवनले तत्कालीन प्रअ धनबहादुर सुर्खेतीलाई प्रअ पदबाट बर्खास्त गरेको शिक्षा संयोजक भीमकुमार श्रेष्ठले जानकारी दिए ।


आर्थिक अनियमिततामा मिलेमतो रहेको आरोप लागेका व्यवस्थापन समितिका अध्यक्ष निरबहादुर गुरुङले पनि पदबाट राजिनामा दिएका छन् । गत असोज ३० गते उनले राजिनामा दिएपछि केहीदिनअघि सम्पन्न अभिभावकहरुको भेलाले नयाँ विद्यालय व्यवस्थापन समिति चयन गरिसकेको र सोही विद्यालयकी शिक्षिका आशा श्रेष्ठलाई प्रअ नियुक्ति गरिएको शिक्षा संयोजक श्रेष्ठले जानकारी दिए ।


‘विद्यालयको दुईवटा भवन निर्माण गर्दा कामदार र निर्माण सामग्रीका सप्लायर्सलाई भुक्तानी नदिएको बिषयमा सञ्चार माध्यमहरुमा समाचार आयो । अख्तियारमा उजुरी प¥यो । शिक्षक कर्मचारीको तलब, सञ्चयकोष, नागरिक लगानी कोष पनि नराखेको भनेर शिक्षकहरुबाट गुनासो आयो । हामीले स्पष्टिकरण माग्दा स्पष्टिकरण दिएनन् । भेला राख्न र हामीलाई बोलाउन आग्रह ग¥यौँ । त्यो पनि अटेरी गरे । त्यसपछि पालिकाले प्रअ पदबाट बर्खास्त गरेको हो’, श्रेष्ठले भने ।


तत्कालीन प्रअ सुर्खेती र अध्यक्ष गुरुङविरुद्ध जिल्ला प्रहरी कार्यालयमा चेक बाउन्ससम्बन्धी मौखिक उजुरी परेको छ । खहरेका निर्माण सामग्री सप्लायर्स आइतमान गुरुङलाई १५ लाख, पेटी ठेकेदार मोहन खत्रीलाई सातलाख ९५ हजार रुपैयाँ र काठका सप्लायर्स शैलेश लामिछानेलाई चार लाख रुपैयाँको बिना रकमको चेक दिएको पिडितहरुले बताएका छन् ।

‘बाउन्स चेकको बारेमा मौखिक उजुरी आएको छ । लिखितचाहिँ आएको छैन । यस बिषयमा दुवै पक्षलाई छलफल गराइरहेका छौं’, जिल्ला प्रहरी कार्यालयका डिएसपी वासुदेव खतिवडाले भने ।


कात्तिक २५ गतेभित्र अध्यक्ष गुरुङले ११ लाख ५० हजार र प्रअ सुर्खेतीले ११ लाख ५० हजार रुपैयाँ तिर्ने गरी सहमति भएको तर म्याद गुज्रिँदा पनि उनीहरुले सो रकम नतिरेको पिडितहरुको भनाइ छ ।

‘मैले तिर्नुपर्ने जति १२ लाख रुपैयाँमा चितवनको मेरो जग्गा नवीन गुरुङलाई दृष्टिबन्धक राखेको छु’, सुर्खेतीले भने, ‘एकातिर शिक्षा शाखाले भेला आयोजना गर भनेर पत्राचार गर्छ, अर्कातिर अध्यक्षले नगरौँ भन्नुहुन्छ । शिक्षा शाखाले स्पष्टिकरण पेश गर भन्छ, अध्यक्ष पेश नगर भन्नुहुन्छ । शिक्षा शाखा र व्यवस्थापन समिति बरबुझारथ गर भन्छन्, सबै कागजात, बिल भरपाई अख्तियारले खिचेको छ । म त दोहोरो चेपुवामा परेँ ।’

पहिलो चारकोठे भवन निर्माण गर्दा ठेकेदारले धोका दिएका कारण घाटा परेको र दोस्रो भवन निर्माण गर्दा अघिल्लो घाटाको क्षतिपूर्ति नभएको उनको दाबी छ ।


विद्यालयका शिक्षकहरुलाई तलब भत्ता पनि समयमै नदिने दिए पनि अपूरो दिने गरेको शिक्षकहरुको आरोप छ । ‘तलब पनि कहिल्यै समयमा दिनुहुन्थेन । आर्थिक बर्षको अन्तिमसम्म पनि सञ्चयकोष, नागरिक लगानी कोष पनि पठाउनु हुन्थेन’, नवनियुक्त प्रअ श्रेष्ठले भनिन्, ‘गत आर्थिक बर्षको सञ्चायकोष, नाल कोष अहिलेसम्म पनि पठाउनु भएको छैन ।’ त्यसबापत रकम जम्मा नगरेसम्म तलब भत्ता नदिने नयाँ समितिले निर्णय गरेको उनले बताइन् ।

तत्कालीन प्रअ सुर्खेतीले भने अध्यक्षको निर्देशनअनुसार निजी स्रोतका शिक्षकलाई तलब खुवाउनका लागि सञ्चयकोष र नागरिक लगानी कोषको रकम केही समयसम्म रोकिएको दाबी गरेको छन् ।


विद्यालयमा उत्पन्न समस्या बारे प्रत्यक्ष भेटेर कुराकानी गर्न अध्यक्ष गुरुङले आनाकानी गरेका छन् । ‘धनबहादुर सरसित कुरा गर्नु भएको रहेछ । उहाँले जे जे भन्नु भयो, त्यही भएको हो’, उनले आलटाल गर्दै टेलिफोनमा भने ।


४७ जना मात्र अध्ययनरत सो विद्यालयमा जिल्ला आयोजना कार्यान्वयन इकाइ(शिक्षा)ले आर्थिक बर्ष २०७५, ०७६ मा चार कोठे भवन निर्माणका लागि ७० लाख, आर्थिक बर्ष २०७६, ०७७ मा अर्को चार कोठे भवन निर्माणका लागि ७० लाख र सौचालय निर्माणका लागि १५ लाख रुपैयाँ प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्