
धार्चे र बारपाकको ‘इपिसेन्टर’ बिवाद टुङ्गियो
धार्चे गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिका बिचको केन्द्रबिन्दु बिवाद टुङ्गिएको छ । जिल्ला समन्वय समितिको अगुवाईमा सोमवार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षिय बैठकले धार्चे ४ को लाप्राक र बारपाक सुलिकोटको १ र २ नम्बर वडा बिचको बिवाद समाधान गरेको हो ।
‘इपिसेन्टर’ शब्दको प्रयोगमा धार्चेको तर्फबाट गल्ती भएकाले सच्याउने निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले बताए । लाप्राक जाने नाका बन्द गर्नु बारपाकको गल्ती भएकाले अबदेखि त्यस्तो कार्य नगर्ने, बनक्षेत्र र सिमानामा ढुङ्गा झिकिएको विषयमा बन उपभोक्ता समितिले आपसी छलफलबाट बिवाद समाधान गर्ने गरी तीनवटा निर्णय भएको उनले बताए ।
धार्चे गाउँपालिका ४ को लाप्राकमा कात्तिक १५ गते इपिसेन्टर लेखिएको बोर्ड राखेपछि बिवाद थप चुलिएको थियो । धार्चे गाउँपालिकाले उक्त ठाउँलाई भुकम्पको केन्द्रबिन्दु नभई इपिसेन्टर ट्रेलको रुपमा बिकास गर्न खोजेको बताएपछि त्यो विषय पनि समाधान भएको छ ।
लाप्राक र बारपाक बिचको सिमाना बिवाद, इपिसेन्टर बिवाद लगायतका विषयमा छलफल भएको धार्चे गाउँपालिका ४ लाप्राकका वडा अध्यक्ष राज गुरुङले बताए । ‘सिमाना बिवादका विषयमा प्रदेशबाट अनुगमन टोली ल्याएर छुट्याउने सहमती भयो’ वडा अध्यक्ष गुरुङले भने ‘गत वर्षपनि यो सहमती भएको थियो, तर काम हुन सकेन ।’ उक्त टोली ल्याउँदा लाग्ने खर्च भने दुबै पालिकाले ब्यहोर्ने सहमती भएको समेत उनले बताए ।
बैठका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, दुबै गाउँपालिकाका प्रमुख उपप्रमुख, संम्बन्धित वडाका वडा अध्यक्षहरु, राजनीतिक दलका नेता, निमित्त प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री, प्रहरी प्रमुख, डिभिजन बन प्रमुख लगायतको उपस्थिती रहेको थियो ।




