| सोमवार, कार्तिक २३, २०८३

गोरखाका चारसय घरको खरको छाना हटाउने

गोरखाका चारसय घरको खरको छाना बिस्थापित गरी पक्की छाना बनाउन सरकारले आर्थिक सहयोग गर्ने भएको छ । नेपाल सरकार(संघ)को सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत यसबर्ष गोरखाका चारसय घरको खरको छाना हटाई पक्की बनाउन ५० हजार रुपैयाँका दरले सहयोग गर्ने कार्यक्रम रहेको जिल्ला समन्वय समितिकी उपप्रमुख जनुका अधिकारीले जानकारी दिइन् ।

आइतबार सम्पन्न क्षेत्र नं. १ का सांसद हरिराज अधिकारी अध्यक्षताको बैठकले दुईसय घरको खरको छाना हटाउने निणर्य गरेको उनले बताइन् । गोरखा नगरपालिका वडा नं. १ देखि ७ सम्मको २८ घर, गण्डकी गाउँपालिकाको ३२ घर, शहीद लखन गाउँपालिकाको २८ घर, भीमसेन थापा गाउँपालिकाको २८ घर, आरुघाट गाउँपालिकाको २८ घर, धार्चे गाउँपालिकाको २८ घर र चुमनुब्री गाउँपालिकाको २८ घरको छाना पक्की बनाइने निणर्य भएको उनले बताइन् ।

त्यस्तै यसअघि क्षेत्र नं. २ का सांसद तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको अध्यक्षतामा सम्पन्न बैठकले गोरखा नगरपालिका वडा नं. ८ देखि १० सम्मका ४० घर, सिरानचोक गाउँपालिकाको ४० घर, अजीरकोट गाउँपालिकाको ४० घर र बारपाक सुलीकोटको ४० घरको छाना पक्की बनाउने निणर्य गरेको जनता समाजवादी पार्टीका गोरखा जिल्ला संयोजक नारायण खत्रीले जानकारी दिए ।

सबै कच्ची घर खरको मात्र नहुने भएकाले अति विपन्न, अति संकटासन्न, सीमान्तकृत, हिमाली भेगका बासिन्दाहरुको घरको छाना खरबाहेक पनि कच्ची रहेछन् भने पक्की बनाउन आर्थिक सहायता गर्ने निणर्य गरेको छ । छाना पक्की बनाउन चाहने, अति विपन्न, सीमान्तकृत, संकटासन्न परिबारबाट निवेदन संकलन गरी घरधुरी छनौट गर्नका लागि स्थानीय गाउँ तथा नगरपालिकाहरुलाई जिम्मा दिने पनि निणर्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्