
गोरखामा एनजिओ/आइएनजिओले स्थानीय तहको अनुमतीबिना कार्यक्रम गर्न नपाउने (आचारसंहिता सहित)
जिल्ला समन्वय समिति गोरखाले जिल्लामा क्रियाशिल गैसरकारी संस्थाहरुलाई जिल्ला भित्र कार्यक्रम संचालन गर्दा संम्बन्धित स्थानीय तह, वडा, गाउँ तथा नगरपालिकाको अनुमती लिएर मात्रै संचालन गर्न भनेको छ ।
जिल्ला समन्वय समितिमा आईतवार भएको गैरसरकारी संस्था महासंघ र समन्वय समितिका पदाधिकारी बिचको छलफलमा उक्त निर्णय भएको हो ।
कोभिड १९ को संक्रमण बढिरहेकाले त्यस्ता ठाउँमा कार्यक्रम संचालन गर्दा स्थानीय कर्मचारीबाट नै सम्पन्न गराउने, कोरोना महामारी नियन्त्रण र रोकथाममा गैरसरकारी संघ संस्थाहरुले सक्रिया रहने, बैठक, तालिम, गोष्ठी संभव भए सम्म भर्चुअल गर्न गराउन पनि अनुरोध गरिएको समन्वय समितिका प्रवक्ता मानप्रसाद धितालले बताए ।
जिसस प्रमुख अशोक कुमार गुरुङ, उपप्रमुख जानुका अधिकारी, गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष सिताराम श्रेष्ठ लगायतले गैससले कार्यक्रम संचालन गर्दा अपनाउनुपर्ने आचारसंहितामा हस्ताक्षर गरेका छन् ।
जिल्लास्थित कार्यालयबाट र अन्यत्रबाट गैरसरकारी संघ संस्थाको कार्यक्रम, अनुगमन गर्न कर्मचारी अर्को स्थानीय तहमा नजाने, अत्यावश्यक क्रियाकलाप संचालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गर्नुपर्ने लगायत आचारसंहिता बनाइएको प्रवक्ता धितालले बताए ।
‘कतिपय स्थानीय तहले गैससले कार्यक्रम संचालन गर्दा समन्वय नगरेको, कोभिडको संक्रमण दर बढीरहेका बेला पनि कार्यक्रम गरिरहेको भन्ने गुनासो गरेपछि यस्तो संहिता बनाइएको हो’ उनले भने ।
गर्न हुने नहुने क्रियाकलापको सुची समेत तयार गरिरहेको छ भने आचारसंहिताको नौ वटा बुँदा बनाइएको छ ।
सोही क्रममा ट्रान्परेन्सी इन्टरनेशनल नेपाल गोरखा शाखाले पारदर्शीता, भुकम्पपछिको पुन निर्माण, कोभिड १९ पछिको अवस्था लगायतका बारेमा पनि छलफल संचालन गरेको थियो ।





