
गण्डकी प्रदेशमै पहिलो पटक गोरखाको लाप्राकमा पर्यटन पढाइ
गण्डकी प्रदेशमै पहिलो पटक गोरखाको एक विद्यालयले पर्यटन सम्बन्धी पठाइ सञ्चालन गरेको छ । धार्चे गाउँपालिका ४ लाप्राकको मणिकामदेवी माविले यसबर्षदेखि पर्यटनसम्बन्धी पठनपाठन सुरु गरेको विद्यालयका प्रधानाध्यापक धनबहादुर गुरुङले जानकारी दिए ।
उनका अनुसार पहिलो पटक यसबर्ष ४५ जना विद्यार्थीहरु पर्यटन सम्बन्धी पढ्नका लागि भर्ना भएका छन् । विद्यालयमा पर्यटन र पर्वतारोहण सम्बन्धी पढाइ हुने प्रअ गुरुङले बताए ।
धार्चे गाउँपालिकाले कक्षा ११ र १२ को पढाइ पनि यसबर्षदेखि सुरु गरेको हो ।
नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठानले तयार गरेको पाठ्यक्रमअनुसार पढाइ सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । ‘पाठ्यक्रमलगायतका प्राविधिक सहयोग नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठानले गरेको हो’ गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले भने, ‘कोर्श पूरा भइसकेपछि उनीहरुलाई मानक प्रमाणपत्र दिने पनि प्रतिष्ठानले नै हो ।
उनीहरुले कहाँ कहाँ रोजगार पाउन सक्छन् भन्ने दिशानिर्देश पनि प्रतिष्ठानले नै गर्छ ।’ कक्षा ११ र १२ मा पर्यटन तथा पर्वतारोहणसम्बन्धी पढाइ हुने गण्डकी प्रदेशकै पहिलो विद्यालय मणिकामदेवी भएको उनले दाबी गरे ।
पर्वतारोहणसम्बन्धी पढाइ सञ्चालन गर्न स्थानीय पर्यटन व्यवसायी तथा नेपालका प्रथम अन्तर्राष्ट्रिय स्तरका पर्वतारोहण पथप्रदर्शक सुनारबहादुर गुरुङले रक क्लाइम्बिङ स्थल निर्माण गरेका छन् ।




