
गुम्दा र लाप्राकको आलुमा दादे र ऐजेरु
स्थानीय जातको आलुका लागि प्रसिद्ध गोरखा गुम्दा र लाप्राकको आलुमा ऐजेरु र दादे रोगको संक्रमण भेटिएको छ । राष्टिूय बाली रोग विज्ञान अनुसन्धान केन्द्रले धार्चे ४ र धार्चे ५ का बिभिन्न चार ठाउँको आलुमा गरेको नमूना परीक्षणको क्रममा दुई रोगका जीवाणु भेटिएको हो ।
गाउँपालिका कार्यालयले गुम्दा र लाप्राकका विभिन्न चार ठाउँका आलुको नमूना परीक्षणका लागि कृषि ज्ञानकेन्द्र गोरखामा पठाएको थियो । ज्ञानकेन्द्रले नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गत राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रमा नमूना परीक्षणका लागि पठाएको ज्ञानकेन्द्र प्रमुख मनिता थापाले जानकारी दिइन् ।
‘कृषि विभागबाट हामीलाई यही कात्तिकको चार गते आलु परीक्षणको रीपोर्ट प्राप्त भयो’, थापाले भनिन्, ‘चारवटै नमूना परीक्षणको रिपोर्टमा ऐजेरु र दादे रोगको जीवाणु भेटिएको पाइयो ।’ नम्बै आलुब्लक धार्चे ४ लाप्राकको आलु, गुम्दा आलु पकेट सञ्चालक समिति धार्चे ५ गुम्दाको आलु, गुम्दा मध्यभागको आलु र गुम्दा पूर्वभागको आलु परीक्षण गरिएको उनले बताइन् ।
राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रले दादे र ऐजेरु रोगबाट बच्ने उपायहरु पनि किसानलाई सुझाएको छ ।
‘रोगी आलु नरोप्ने, रोगरहितका आलुका बिउ रोप्ने, रोगग्रस्त क्षेत्रमा आलु नलगाई अन्य बाली लगाउने, आलु बढ्ने बेलामा माटोमा पर्याप्त चिस्यान कायम राख्ने, माटोको अम्लीयपन हटाउन कृषि चुन प्रयोग गर्ने र माटोको पिएच ६.५ सम्म बढाउन सुझाव दिएको छ’, कृषि ज्ञानकेन्द्रकी प्रमुख थापाले भनिन्, ‘ऐजेरु रोग कम लाग्ने एनपिआई १०६, कार्डिनल, कुफ्रिज्योति, जनकदेव, खुमल सेतो १, खुमल रातो २ जातको बिउ प्रयोग गर्न सुझाव दिएको छ ।
त्यस्तै रोगी बिउलाई बारीमा त्यत्तिकै नछाड्ने, गाढ्ने वा जलाएर नष्ट गर्ने र पशुलाई नखुवाउने गर्नुपर्छ । ऐजेरु रोगको प्रकोप भएको ठाउँलाई आन्तरिक क्वारेण्टाइन चेकपोष्ट खडा गरी यस्ता ठाउँबाट अन्यत्र बिउ नलैजाने गर्नुपर्छ ।’
गुम्दा र लाप्राक दुवै ठाउँको माटोमा भने ऐजेरुको जीवाणु अब्लिगेटरी प्यारासाइट नपाइएको र माटोको नमूनामा अन्य व्याक्टेरिया, जीवाणु, ढुसी, नेमाटोड नभेटिएको ज्ञानकेन्द्र प्रमुख थापाले बताइन्




