| सोमवार, कार्तिक २३, २०८३

किसानलाई यसरी आवश्यक सहयोग गरौँ

बारपाक सुलीकोट गाउँपालिकाले स्वाँराका किसानहरुलाई ढुवानी अनुदानमा आलुको बिउ उपलब्ध गरायो । यद्यपि बिउ खरिद गर्न लाग्ने रकम किसान स्वयंले ब्यहोरे । प्रतिपाथी एकसय ७० रुपैयाँका दरले उनीहरुले रकम तिरेका थिए ।

रैथाने जातको आलुका लागि प्रसिद्ध गुम्दाको रातो, कालो आलु ट्याक्टर र जीपमा गरी ९० मुरी ढुवानी गरेर किसानको घरघरमा उपलब्ध गरायो ।

बारपाक सुलीकोट ३ स्वाराको खारचोक, सिरानचोक, ठोट्नेरी, काफलडाँडाको दुईसय रोपनी क्षेत्रफल भूभागलाई गाउँपालिकाले आलु पकेट क्षेत्र घोषणा गरेको छ । त्यहाँका किसानलाई रैथाने जातको आलु खेती गर्न प्रोत्साहन गर्न ढुवानी अनुदानमा आलु उपलब्ध गराएको छ ।

व्यवसायिक खेती गर्न चाहने किसानलाई जे, जति सकिन्छ, जे जसरी सकिन्छ सहयोग गरेर जनजीविका चलाउन मद्धत गर्नु गाउँपालिकाको दायित्व हो किनभने गाउँपालिका भनेको स्थानीय सरकार हो, किसानहरुको अभिभावक हो । बेला बेला बिभिन्न पालिकाहरुले उदाहरणीय काम गर्नेगर्छन् । ती कामलाई प्रसंसा गरी त्यस्ता कार्यक्रम लागु गरिरहन हौसला प्रदान गर्नुपर्छ ।

साथै अन्य गाउँपालिकाले पनि यस्ता कामको देखासिकी गर्नुपर्छ । कुन पार्टीले कुन कामको अगुवाइ गर्‍यो भन्ने कुरा गौण हो । कस्तो कामको थालनी गर्‍यो भन्नेचाहिँ महत्वपूणर् हुन्छ । त्यसैले सर्वसाधारणको हितकारी कामलाई प्रसंसा गर्न चुक्नु हुदैन ।

आलु जस्ता व्यवसायिक रुपमा गर्न सकिने अन्य खेती पनि हुनसक्छन्, जसलाई गाउँपालिकाले किसानहरुलाई प्रोत्साहित गरी खेती गर्न लगाउनु पर्छ । आवश्यक परेको प्राविधिक परामर्श, मल, किटनाशक बिषादीको ब्यबस्था, बजार ब्यबस्था पनि गरिदिनुपर्छ, जसले उनीहरुको आयआर्जनमा वृद्धि हुनेछन् । मनग्य आयआर्जन भएमा गाउँका युवाहरु स्वदेशमै, गाउँमै अट्नेछन् ।

प्रतिक्रिया दिनुहोस्