
सरस्वती माविका दृष्टिबिहिन विद्यार्थीलाई बसोबासको अभाव
गोरखा नगरपालिका ८ आहालेस्थित सरस्वती माविमा अध्ययनरत दृष्टिबिहिन विद्यार्थीलाई बसोबासको अभाव भएको छ । यहाँ अध्ययनरत १५ जना विद्यार्थीलाई बस्ने ठाउँको अभाव भएको प्रधानाध्यापक पुरुषोत्तम भट्टराईले जानकारी दिए ।
बस्ने खाने व्यवस्था राम्रो भयो भने उनीहरुको वृत्ति विकासमा थप राम्रो हुने प्रअ भट्टराईले विश्वास व्यक्त गरे । ‘विद्यालय भवनको पुछारको तलामा कोचाकोच भएर बस्नु पर्ने अबस्था छ । यदि सजिलोसित बस्न पाए भने उनीहरुको वृत्तिविकासमा अझै राम्रो हुने थियो’, उनले भने, ‘तर उनीहरुलाई बस्ने, खाने ठाउँको अभाव छ ।’ छात्रबास निर्माण गरिदिने दातृ संस्था खोजिरहेको उनले बताए ।
३० जना दृष्टिबिहिन विद्यार्थी पढाउने लक्ष्य रहे पनि हाल यहाँ बिभिन्न कक्षामा १५ जना दृष्टिबिहिन बालबालिका पढिरहेका छन् ।
जसमध्य शिशु कक्षामा तीनजना छात्रा अध्ययनरत छन् । त्यस्तै कक्षा पाँचमा तीनजना छात्रा, कक्षा सातमा दुईजना छात्रा, कक्षा नौ मा एकजना छात्र, दुईजना छात्रा, कक्षा १० मा एकजना छात्र, एकजना छात्रा अध्ययरत छन् । एकजना छात्रले हालै एसईई उतीर्ण गरेर गइसकेका दृष्टिबिहिन स्रोत शिक्षक श्यामभक्त कट्टेलले जानकारी दिए ।
सरकारले दृष्टिबिहिनहरुलाई मासिक जनही चार हजार रुपैयाँका दरले १० महिनाका लागि अनुदान दिने गर्छ । जस अनुसार दृष्टिविहिन बालबालिकाका लागि बर्षमा सरकारले छ लाख रुपैयाँ अनुदान दिने गर्छ ।
सरस्वती माविमा आसपास र जिल्लाका बिभिन्न गाउँ तथा नगरपालिकाबाट आएका एकहजार ३५ जना विद्यार्थी अध्ययनरत छन् । जसमध्य ६२३ जना छात्रा र ४१२ जना छात्र अध्ययनरत रहेको प्रअ भट्टराईले जानकारी दिए । शिशु कक्षामा मात्रै ६५ जना बालबालिका अध्ययनरत रहेको उनले बताए ।
सरस्वती माविले गतबर्षसहित चार बर्षसम्म जिल्ला स्तरमा उत्कृष्ठ स्थान हाँसिल गरेको थियो । यसअघि २०६५ साल, २०६७ साल र २०७१ सालमा पनि उत्कृष्ठ स्थान हासिल गरेको विद्यालयले जनाएको छ ।
त्यस्तै २०६१ सालमा पश्चिमाञ्चल विकास क्षेत्रको सर्वोत्कृष्ठ विद्यालय घोषणा भई क्षेत्रीय शिल्ड हासिल गरेको थियो । त्यसैगरी यदु भट्ट विद्या पुरस्कार गुठीले एसएलसी परीक्षामा जिल्लाभरको उत्कृष्ठ घोषणा गरी २०७२ मा र २०७५ मा पनि पुरस्कृत गरेको थियो ।

यहाँको शैक्षिक अबस्थाको प्रसंसा गर्दै नेपाल दृष्टिबिहिन संघले तनहूँ र धादिङका दृष्टिबिहिन विद्यार्थीलाई समेत यही विद्यालयमा ल्याएर पढाउने व्यवस्था गर्ने तयारी गरेको छ । जसले गर्दा यहाँ कम्तिमा पनि ३० जना दृष्टिबिहिन विद्यार्थी रहने अनुमान गरिएको दृष्टिबिहिन स्रोत शिक्षक कट्टेलले बताए ।
शैक्षिक गुणस्तर उत्कृष्ठ रहेको र दृष्टिबिहिन विद्यार्थीसमेत पढ्ने भएपनि यहाँ भौतिक संरचनाको भने अभाव छ । भौतिक संरचना निर्माणमा सरकारी तबरबाट पनि उच्च प्राथमिकता नदिइएको प्रअ भट्टराई बताउँछन् । यसअघि सो विद्यालयलाई एक पटक चारकोठे भवन र एक पटक आठ कोठे भवन निर्माणका लागि ६५ लाख रुपैयाँ र ९७ लाख रुपैयाँ तत्कालीन जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराएको थियो ।




