| सोमवार, कार्तिक २३, २०८३

बारपाक सुलीकोटद्वारा ९० मुरी आलु ढुवानी अनुदान

स्थानीय जातको आलुका लागि प्रसिद्ध गुम्दाबाट बारपाक सुलीकोट गाउँपालिकामा मात्रै ९० मुरी आलु निर्यात भएको छ । गत कात्तिक १३ गते ट्याक्टर र जीपमा राखेर ९० मुरी आलु बारपाक सुलीकोट गाउँपालिकामा निर्यात गरिएको धार्चे गाउँपालिका वडा नं. ५ का वडाअध्यक्ष तुलबहादुर गुरुङले जानकारी दिए ।

‘प्रतिपाथी १७० रुपैयाँका दरले बारपाक सुलीकोटलाई आलु विक्री गरेका हौं’, वडाअध्यक्ष गुरुङले भने, ‘सेतो, रातो र कालो तीन खालको आलु पाइन्छ । बारपाक सुलीकोटले बिउका लागि रातो र कालो आलु लगेको हो ।’ प्रत्येक किसानले १० मुरीदेखि १२ मुरीसम्म बिक्री गरेको उनले बताए । ‘पोहर परार प्रत्येक किसानले २० देखि २५ मुरीसम्म बेच्थे । यसपालि धेरै पानी परेर केही कम भएको हो’, अध्यक्ष गुरुङले भने, ‘आरुघाट गाउँपालिका र चुमनुब्री गाउँपालिकामा पनि धेरै ठूलो मात्रामा आलु लगेका छन् ।’ त्यहाँका किसानले व्यक्तिगत रुपमा खरिद गरेकाले परिमाण बारे जानकारी नभएको उनले बताए ।

गुम्दालाई कृषि ज्ञानकेन्द्रले आलु ब्लकको रुपमा विकास गरेको छ । सरकारी सहयोगमा यहाँ आलु सुरक्षित भण्डारणका लागि कोल्डस्टोर निर्माण गरेको छ । बिउका लागि कोल्डस्टोरमा छ मुरी आलु सञ्चित रहेको वडाअध्यक्ष गुरुङले बताए ।

गाउँपालिका कार्यालयको ढुवानी अनुदानमा उलाजुङ कृषि सहकारीले समन्वय गरी गुम्दाबाट ९० मुरी आलु आयात गरिएको बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले जानकारी दिए । बारपाक सुलीकोट गाउँपालिका ३ स्वाँरा क्षेत्रलाई आलु पकेट क्षेत्रको रुपमा विकास गरिएकाले स्थानीय जातको आलु ल्याइएको अध्यक्ष भट्टले बताए ।

‘हामीले स्थानीय जातको आलु प्रवद्र्धन गर्ने कार्यक्रम अनुसार स्वाँराको खारचोक, सिरानचोक, ठोट्नेरी, काफलडाँडाका दुईसय ५० रोपनी भूभाग समेटेर आलु पकेट क्षेत्र घोषणा गरिएको छ’, अध्यक्ष भट्टले भने, ‘त्यहाँका किसानलाई आलु खेती गर्न प्रोत्साहन गर्न हामीले आलु ढुवानीमा अनुदान दिएका हौं ।’ आलु प्रवद्र्धन कार्यक्रमलाई स्थानीय उलाजुङ कृषि सहकारीले समन्वय गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्