| सोमवार, कार्तिक २३, २०८३

पर्यटन मन्त्रीद्वारा धार्चेमा इपिसेन्टर ट्रेलको उद्घाटन(फोटो फिचरसहित)

धार्चे गाउँपालिकाको गुम्दा देखि लाप्राक सम्म इपिसेन्टर ट्रेल (साईकल मार्ग समेत) निर्माण गरिएको छ । उक्त ट्रेलको शनिवार एक कार्यक्रमका बिच गण्डकी प्रदेशका उद्योग पर्यटन बन तथा बतावरण मन्त्री बिकास लम्सालले उद्घाटन गरेका हुन् ।


धार्चे गाउँपालिकाले घोषणा गरेको भुकम्पको केन्द्रबिन्दु चुङ्गङडाँडामा (भिरकोटडाँडा) ‘इपिसेन्टर’ लेखिएको बोर्ड मन्त्री लम्सालले अनवारण गरेका छन् । शुक्रवार र शनिवार दुई दिन धार्चे गाउँपालिकाको आयोजनामा भएको बिभिन्न कार्यक्रममा उनी सरिक बने । आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले गाउँपालिकाले संचालन गरेको गतिविधिमा मन्त्री लम्साल सहभागी भएका गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए ।


मन्त्री लम्सालले धार्चे गाउँपालिकाको बिकास पर्यटनबाट संभव भएको बताउँदै गाउँपालिकाको अभियानमा प्रदेश सरकारले साथ दिने बताए । भौगोलिक रुपमा बिकट भएपनि पर्यटनको प्रचुर संभावना बोकेको धार्चेमा पर्यटन प्रर्वद्धन गर्ने गतिविधि संचालन गर्न, भौतिक संरचना निर्माण गर्न आफ्नो प्रयास निरन्तर रहने उनले बताए ।
शुक्रवार धार्चे पुगेका मन्त्री लम्सालले लाप्राकको गुप्सीपाखामा गैर आबासिय नेपाली संघ (एनआरएनए) ले निर्माण गरेको एकिकृत नमुना बस्तीको अवलोकन गरेका थिए । उक्त बस्तीमा केयर नेपालको सहयोगमा स्वाँरा सघनले निर्माण गरेको खानेपानी आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको वडा अध्यक्ष राज गुरुङले बताए ।


मणिकामदेवी माविमा यस वर्षदेखि कक्षा ११ र १२ मा सुरु हुन लागेको पर्वतारोहण सम्बन्धी पढाई संचालनका लागि विद्यालय सँग पर्वतारोहण संघले गरेको सम्झौताको कार्यक्रममा पनि पर्यटन मन्त्री लम्साल सहभागी थिए । विद्यालयको हाता भित्र निर्माण गरिएको बाल रक क्लाईम्बिङको उद्घाट सोही समयमा मन्त्रीबाट गरिएको प्रधानाध्यापक धनबहादुर गुरुङले बताए ।


शुक्रवार र शनिवार बिभन्न ठाउँको उद्घाटन, सिलान्यासमा सहभागी भएपछि शनिवार गुम्दामा एक कार्यक्रम गरीएको थियो । दुईदिने कार्यक्रमको समापनपछि शनिवार नै मन्त्री सहितको टोली धार्चेबाट फर्किएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए । ‘पर्यटनको क्षेत्रमा हामीले सुरुदेखि लगानी गर्दै आएका छौँ’ उनले भने ‘अहिले मन्त्री ज्यू सहभागी हुनुभएको सबै गतिविधि पर्यटन लक्षित छ, धार्चेको संभावना पर्यटनबाट नै छ, हामी निरन्तर लागिरहने छौँ ।’

प्रतिक्रिया दिनुहोस्