| सोमवार, कार्तिक २३, २०८३

सदरमुकामको आइशोलेसन हट्ने भएपछि पालुङटारले आफैँ बनायो

गोरखा क्याम्पसमा सञ्चालित आइशोलेसन सेण्टर हटाउने तयारी भएसँगै पालुङटार नगरपालिकाले आफ्नै आइशोलेसन निर्माण गरेको छ ।

यसअघि कोरोना पोजेटिभ देखिएकालाई सदरमुकामको सामुहिक आइशोलेसनमा ल्याएर राख्ने गरिएको थियो अब भने पालिकाकै आइशोलेसनमा राख्ने कोरोना फोकल पर्सन दिपेन्द्र गिरीले बताए ।
गोरखा क्याम्पसले आइशोलेसन हटाउन आग्रह गरेसँगै गोरखा अस्पतालको ब्यवस्थापनमा संचालित क्याम्पस आइशोलेसनमा जिल्लाका स्थानीय तहले संक्रमित पठाउन छाडेका छन् । अधिकांस होम आइशोलेसनमा बस्न थालेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला स्तरीय सिसिएमसीको बैठकले स्थानीय तहलाई आफैँले आइशोलेसन बनाउन अनुरोध गरेपछि निर्माण गरेको नगरपालिकाले जनाएको छ ।
‘आइशोलेसन बनेपनि अहिले संक्रमित राखेका छैनौं’ गिरीले भने ‘बिहिवार पोजेटिभ देखिएका एकै परिवारका सदस्यहरु होम आइशोलेसन बसेका छन् ।’ अझै रिपोर्ट आउन बाँकी रहेकाले पोजेटिभ देखिएका, होम आइशोलेसन बस्न समस्या भएकालाई सामुहिक आइशोलेसनमा राखिने उनले बताए ।

पालुङटार नगरपालिकामा अहिलेसम्म संक्रमितको संख्या ५२ पुगेको छ भने १३ जना सक्रिय संक्रमित रहेका छन् ।
संक्रमण पुष्टि भएकाहरुको उपचारका लागि एक जना चिकित्सक, एकजना अहेब र एक जना अनमी खटाउने तयारी नगरपालिकाको छ । वडा नम्बर ४ को सुदर्शन आधारभूत विद्यालयलाई आइशोलेसनको रुपमा प्रयोग गरिएको छ ।

‘उक्त विद्यालयमा २७ जना विद्यार्थी छन्’ कोरोना फोकल पर्सन गिरीले भने ‘विद्यालयका लागि ट्रस्ट भबन छुट्टै निर्माण गरिँदैछ ।’ अहिले तयार भएको आइशोलेसन २० जना संक्रमित राख्न सक्ने क्षमताको छ । आइशोलेसनका लागि चाहिने पूर्वाधार र ब्यवस्थापनको काम सबै सकिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्