| सोमवार, कार्तिक २३, २०८३

गोरखामा रोहिग्या शरणार्थी श्रम गर्दै, ताइवानी नागरिक धर्म प्रचार गर्दै

बर्माको रखायन प्रान्तबाट सन् २०१२ मा भागेर नेपाल पसेका ३० बर्षका अबुल उस्मान सपरिवार गोरखामा बस्दै आएका छन् । बिगत पाँचबर्षअघिदेखि २५ बर्षकी श्रीमती सेतारा बेगम, पाँचबर्ष र तीनबर्षकी छोरी आशिका बिबी र प्रविना आतव र साला अनवर सदेकको साथमा गोरखा नगरपालिका २ कोखेआहालेस्थित प्रहरीचौकीको आडैमा डेरा गरेर बस्ने गरेका हुन् ।

उनले अन्य रोहिंग्या शरणार्थीको साथ लिएर भूकम्प पीडितहरुको घर बनाउने काम गरिरहेको स्थानीय गयासुद्धिन मियाँले जानकारी दिए । उनीहरु गोरखा नगरपालिका २ कोखे आहाले, डेरागाउँ, अश्राङ, झिँगटे, कोखे लगायतका मुस्लिम बस्तीमा घर बनाउने काम गर्ने मियाँले जानकारी दिए ।
२०७२ सालको भूकम्पका बेलादेखि घर पुनर्निर्माणको काम गर्दै आएका उनीहरु कोरोना महामारीका बेला पनि सोही काममा ब्यस्त रहेको बताउँछन् ।
शरणार्थीलाई शिविरबाट बाहिर निस्केर काम गर्नुलाई अबैध मानिए पनि उनीहरु बिगत पाँचबर्षदेखि गोरखामा काम गरिरहेका हुन् ।

रोहिंग्या शरणार्थीले भूकम्पपछि यहाँको मुस्लिम बस्तीका करिब ५० भन्दा धेरै घर बनाइसकेका स्थानीयबासी बताउँछन् । ‘आहाले, गाईखुर, डेरागाउँ र झिँगटेमा काम गर्‍यौं’, शरणार्थीहरुमध्यका टिम लिडर अबुल उस्मान भन्छन्, ‘ठेक्का लिन्छौं । अनि काठमाडौं कपन शिविरबाट मान्छे बोलाउँछौं र काम गर्छौं । एक महिनामा एउटा घर तयार गरिदिन्छौं ।’ मुस्लिम बस्तीबाहेक कामका लागि अरु गाउँमा भने अहिलेसम्म नगएको उनीहरु बताउँछन् ।

भूकम्प पीडितका लागि आउने तीनलाख रुपैंयामा अनुदानको घर उनीहरुले बनाएका स्थानीयबासी बताउँछन् । अरुले भन्दा धेरै नै सस्तो दरमा काम गर्ने भएकाले गाउँलेले उनीहरुलाई खोजीखोजी काम दिने गरेको स्थानीयबासीको भनाइ छ ।

कपन शिविरमा हाल तीनसय ८४ जना रोहिङ्ग्या शरणार्थी आश्रित छन् । संयुक्त राष्टूसंघले खाद्यान्न सहायता दिन छाडेपछि उनीहरु बिभिन्न ठाउँमा श्रम गर्दै जीविका चलाइरहेका छन् । प्रहरी प्रशासनलाई यसबारे जानकारी भए पनि कडाइ गरेको पाइएको छैन ।

ताइवानबाट भिजिट भिसामा आएका एक ताइवानी गोरखामा लामो समयदेखि धर्मप्रचारमा सक्रिय छन् । ताइवानको ताइचुङ सिटीबाट आएका ३६ बर्षका मेङ सेइन चेङ बिगत लामो समयदेखि गोरखामा धर्म प्रचारमा सक्रिय रहेका हुन् ।

‘१५ बर्षअघि बिजनेश भिसामा नेपाल आएको हुँ । काठमाडौंको नयाँ बानेश्वरमा होङजिन होटल छ’, उनी भन्छन्, ‘तर अहिले होटल छैन । अहिले गोरखामा चाइनिज भाषा सिकाउने गर्छु ।’ उनले तावा धर्म प्रचार गर्ने गरेको पनि स्वीकार गरे । ‘गोरखा बजार र आसपासका धेरै गाउँहरुमा मेरा साथीहरु छन् । घरघरमा गएर भेट्छु’, उनी भन्छन्, ‘गैरीकुवामा तावा मन्दिर बनाउन सुरु गरेका थियौँ । जग्गाको विवादका कारण अधुरो रहेको छ ।’

प्रशासन कार्यालयले कडाइ गरेपछि गत चैत महिनामा गोरखा छोडे पनि फेरि एक महिनाअघि आएर धार्मिक गतिविधिमा सक्रिय रहेको उनले बताएका छन् । उनी रोहटेपानीस्थित नेपाल मगर संघको कार्यालय भवनको माथिल्लो तलामा डेरा गरी बस्छन् । सोही ठाउँमा स्थानीयहरुलाई भेला गरी चिनियाँ भाषा सिकाउने काम गर्ने गर्छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी देवी खत्री पाण्डेले अवैध रुपमा बस्दै आएका विदेशी नागरिकलाई जिल्ला छाड्न सचेत गराइसकिएको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्