यो बर्ष किन सडक सफा भएन ?
दशै, तिहार जस्ता चाडपर्व नजिकिदै आइरहेको छ । यो बेला गाउँलेहरु सबै मिलेर आफ्नो घर आँगन, गल्ली, चौर, चौतारा, बाटो, मूलबाटो सरसफाइ गर्ने बेला हो ।
बिगतमा पालिकाहरुले पनि आ(आफ्नो पालिकाभित्र पर्ने सडकहरु सरफाइ गर्थे । बर्खाभरि बिग्रिएका सडकहरु सम्याउने, पहिरो फाल्ने, ग्रेडिङ मिलाउने गर्थे । यो सबैभन्दा धेरै पहिरो गएको बर्ष हो । तर यही बर्ष पहिरो पन्छ्याउने, सम्याउने, लेभल मिलाउने, ग्रेडिङ मिलाउने काम भएको छैन ।
चाडबाड आउँदैछ । सहरमा रहेकाहरु पनि फाट्टफुट्ट गाउँ फर्कन थालेका छन् । स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने सर्त आफ्नै ठाउँमा छ तर सडक पनि जीणर् छ, मर्मत, सम्भार गरिएको छैन ।
जुनबर्ष बढि क्षतिग्रस्त भएको छ, त्यही बर्ष झन् मर्मत सम्भार नहुनुको कारण के हो, बुझ्न सकिएन ।
पालिका गठन नहुँदा, निर्वाचन नभई कर्मचारीले गाविस चलाउँदा बरु बजेट बिनियोजन गरी सडक मर्मत सम्भार गर्थे । अहिले सबै सडक कुनै न कुनै पालिकाभित्र पर्छ । पालिकाहरु बजेट तथा अख्तियारीसम्पन्न छन् । तैपनि किन आफ्नै पालिकाभित्रको सडक क्षतविक्षेत भएको हेरेर बसिरहेका हुन् ?
स्थानीय सडक उपभोक्ताहरुले पनि पालिका सरकारलाई तताउनु पर्ने पो हो कि ? अहिले सबैजना कोभिड व्यवस्थापनमा व्यस्त छन् । कहिले कुनै पालिका बन्द, कहिले कुनै वडा बन्द गरिएको छ । यसरी विक्षिप्त भइरहेका बेला सडक मर्मतसम्भारका लागि प्राथमिता नपरेको हुन पनि सक्छ ।
त्यसैले उपभोक्ताहरुले पालिका सरकारलाई झक्झक्याउनु पर्ने आवश्क देखिन्छ । सडक सफाइ गरियो भने बाहिरबाट पालिकाभित्रिने त्रास छ भने, सडक उनीहरुका लागि मात्र होइन । सबैका लागि हो भनेर बुझ्नु पर्छ ।




