
बाग्लुङमा फेरि बढ्दै कोरोना सङ्क्रमण
जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ५२५ पुगेको छ । केही समय नियन्त्रण उन्मुख देखिए पनि अहिले फेरि सङ्क्रमण दर बढ्दो छ । पछिल्ला दश दिनमा मात्र १२१ जना सङ्क्रमित थपिएका हुन् । शनिबार नेपाली सेना, प्रहरी, अदालतका कर्मचारी, थुनुवालगायत गरी ४७ जनामा कोरोना पुष्टि भएको थियो । स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले ‘क्लस्टर’मा सङ्क्रमण देखिएकाले आत्तिहाल्नुपर्ने स्थिति नरहेको बताए ।
“सेनाको ब्यारेकलगायत खासखास ठाउँ र ट्राभल हिस्ट्री भएका व्यक्तिमा सङ्क्रमण बढी छ”, उनले भने, “क्लस्टरबाट समुदायमा फैलन नदिन विशेष सावधानी अपनाउनुपर्छ ।” यात्रा विवरण नभएका सङ्क्रमित फाटफुट्ट देखिए पनि ठूलो जनसङ्ख्यामा कोरोना नपुगेको उनको भनाइ छ ।
समुदायमा कोरोनाको फैलावट रोक्न सबैले जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्ने प्रमुख गुरौले बताए । स्वास्थ्य कार्यालयका अनुसार हालसम्म कोरोना लागेर निको हुनेको सङ्ख्या ३६७ छ भने आइसोलेसनमा १५७ सङ्क्रमित छन् ।




