
कर्मचारीमा कोरोना संक्रमण देखिएपछि गोरखाका दुवै नगरपालिका बन्द, विद्यालय मंसीर ६ गतेसम्म बन्द
गोरखा : कर्मचारी र समुदायमा कोरोना संक्रमण फैलिएपछि गोरखा नगरपालिका र पालुङ्टार नगरपालिका कार्यालयहरु एकहप्ताका लागि बन्द गरिएको छ ।
दुवै नगरपालिकाले सूचना प्रकाशित गरी नगरपालिका कार्यालय र सबै वडा कार्यालयहरु बन्द गरेका जनाएका हुन् ।
गोरखा नगरपालिकाको वडा नं. ६ का एकजना कर्मचारीमा आइतबार कोरोना पुष्टि भएको थियो । उनी दुईदिनअघि कार्यपालिकाको कार्यालयमा गएका धेरैसंग सम्पर्क भएको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिए ।
‘नगरपालिकाको कार्यालय र सबै वडा कार्यालयहरुबाट प्रवाह हुने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने आइतबार सम्पन्न कार्यपालिका बैठकले निर्णय गरेको छ’, पन्तले भने ।
पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माद्वारा हस्ताक्षरित सूचनामा कार्यपालिकाको आइतबारको बैठकले पालिका र दसवटै वडाहरु कात्तिक १ गतेसम्मका लागि अत्यावश्यक सबै काम बन्द गर्ने निर्णय गरिएको उल्लेख छ ।
त्यस्तै पालिकाभित्रका सबै विद्यालय मङ्सीर ६ गतेसम्म बन्द गरेको जनाइएको छ ।पालुङ्टार नगरपालिकाको वडा नं. ५ र वडा नं. ८ का कर्मचारीमा पनि आइतबार कोरोना संक्रमण पुष्टि भएको छ ।




