
गोरखाका नौ जना ब्यापारीलाई एक लाख २५ हजार जरिवाना (कसलाई कति सुची सहित)
गोरखा सदरमुकामका नौ वटा खद्यान्न पसललाई उपभोक्ताको स्वास्थ्यमा असर पुग्ने गरी र मापदण्ड बाहिर रहेर संचालन गरेको भन्दै कारवाही गरिएको छ ।
बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागले गोरखा सदरमुकामका ९ वटा खाद्यान्न पसलहरुको अनुगमन गरी एक लाख २५ हजार जरिवाना गरेको हो ।
अनुगमनका क्रममा जरिवाना सहित कारवाहीमा परेका श्रेष्ठ किराना स्टोर्स, कमला स्टोर्स, बिसाल न्यू किराना स्टोर्सलाई २० हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

राना किराना स्टोर्स, खोप्लाङ्गी सप्लायर्सलाई १५ हजार, जोशि क्वालिटी किराना, दिप्सम स्टोर्स, सौगात स्टोर्सलाई १० हजार जरिवाना तोकिएकोे प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए ।
श्रीराम किराना पसललाई पाँच हजार जरिवाना गरिएको छ । अनुगमन टोलीले २० वटा पसलको अनुगमन गरेको थियो ।
यी बाहेकका पाँच वटा पसललाई सचेत गराइएको र छ वटा पसललाई कार्यालयमा सम्पर्क गर्न बोलाइएको प्रजिअ भट्टराईले बताए । पसलहरुमा ढकमा समस्या देखिएको, अखाद्य बस्तु बिक्री गरेको, सरसफाई राम्रो सँग नगरेको पाइएको छ ।

यस्तै खाद्य सामग्रीको रुपमा बिक्रीकालागि राखिएका तर मानविय स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने सामग्रीहरु पनि बरामद गरिएको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए । रङ मिसाएर बनाइएका खाद्यान्न, म्याद गुज्रिएका लगायत बरामद भएका सामग्री नष्ट गरिने अनुगमन समितिले जनाएको छ ।
अनुगमन सँगै यति धेरै ब्यापारीलाई जरिवाना गरिएको यो पहिलो पटक हो । चाडबाड नजिकिए सँगै केही समय यता प्रशासन, प्रदेश स्तर र स्थानीय तहले बजार अनुगमनलाई तिब्रता दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, बिभागबाट निरीक्षण अधिकृत तोकिनुभएकी सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री, गण्डकी प्रदेश स्तरीय जिल्ला अनुगमन समितिका संयोजक दिनेश पौडेल लगायतको टोलीले बजार क्षेत्रको अनुगमन गरेको हो । अनुगमनका क्रममा उपभोक्ता अधिकारकर्मी, सुरक्षाकर्मी, नगरपालिकाका प्रतिनिधि लगायतको सहभागिता थियो ।




