| सोमवार, कार्तिक २३, २०८३

कुन्दुरका २९ जना शिक्षकलाई ल्याप्टप बितरण

गोरखा नगरपालिका १२ को महेन्द्र नमूना मावि कुन्दुरका २९ जना शिक्षकलाई ल्यापटप वितरण गरिएको छ ।

बुधबार आयोजित एक कार्यक्रमका बीच गुणस्तर लेखाजोखा समितिका अध्यक्ष वुद्धिबहादुर कुमालले आइ फाइभ ल्यापटप वितरण गरेका सहायक प्रधानाध्यापक मीनबहादुर नेपालीले जानकारी दिए ।
नमूना माविको गुरुयोजना अनुसार शिक्षकहरुको क्षमता अभिवृद्धिका लागि ल्यापटप वितरण गरिएको उनले बताए । ‘शिक्षकहरुलाई २५ वटा ल्यापटप र विद्यालयलाई २० वटा डेस्कटप, १८ वटा सीसी क्यामरा, एउटा स्मार्टबोर्ड, तीनवटा प्रोजेक्टर, दुइटा प्रिण्टर, इसिडी कक्षाका लागि दुईवटा टेलिभिजन पनि प्रदान गरिएको थियो’, सहायक प्रअ नेपालीले भने, ‘संघीय सरकारबाट आर्थिक बर्ष २०७६/०७७ मा प्राप्त ५० लाख रुपैयाँको कार्यक्रम अन्तर्गत प्राप्त बजेट गोरखा नगरपालिकाको स्वीकृतिमा यी सामग्रीहरु वितरण भएको हो ।’

सोही कार्यक्रम अन्तर्गत इलाइब्रेरी, विद्यालयको वेभसाइट सञ्चालन गर्ने कार्यक्रम रहेको उनले बताए । यी सबैमा गरी २९ लाख ४० हजार २६० रुपैयाँ खर्च भएको छ भने बाँकी रकमको कार्यक्रम अझै गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्