
छेवेटार बजार अनुगमन, दर्ता हुन बाँकी भेटियो
गोरखा नगरपालिका १० छेवेटारको बजार अनुगमन गरिएको छ । मंगलवार गण्डकी प्रदेश स्तरीय जिल्ला अनुगमन समितिले औषधी पसल, फेन्सी, खाद्यान्न, खाजा पसल, पार्लर, सैलुनको अनुगमन गरेको हो ।
छेवेटारका २५ वटा पसल अनुगमन गर्दा समग्रमा सुधारउन्मुख देखिएको अनुगमन टोलीको निश्कर्ष छ ।
‘औषधी पसलमा लाईसेन्स प्राप्त ब्यक्ति नबसेको, परिवारका सदस्य बसेको, केही पसल दर्ता नभएको भेटियो’ अनुगमनमा खटिएका घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दिनेश पौडेलले भने । सैलुन, मिठाई पसल नगरपालिकामा दर्ता नभएको, फेन्सी पसल घरेलु कार्यालयमा दर्ता गर्न बाँकी र केही म्याद नाघेका खाद्यान्न समेत भेटिएको थियो ।
अनुगमन टोलीले एक हप्ता भित्र दर्ता गर्न, म्याद नाघेका बस्तु बिक्री गर्ने ठाउँबाट हटाउन पसलधनीलाई निर्देशन गरेको छ ।
‘एक हप्ता भित्र पनि सुधार भएन भने कारवाहीको प्रक्रियामा जानेछौँ’ अनुगमन टोलीका संयोजक समेत रहेका घरेलु कार्यालयका प्रमुख पौडेलले भने ।
टोलीमा जिल्ला प्रशासन, प्रहरी, उद्योग बाणिज्य संघ, चेम्बर, पत्रकार महासंघ, भेटेरिनरी अस्पताल, गोरखा नगरपालिकाका प्रतिनिधि समेत सहभागी थिए ।




