
वडा सचिवलाई कोरोना हुनसक्ने त्रासले पालुङ्टार ८ को वडा कार्यालय र विद्यालय बन्द
वडा सचिवलाई कोरोना संक्रमण हुनसक्ने अनुमान गर्दै पालुङ्टार नगरपालिका वडा नं. ८ को वडा कार्यालय र तीनवटा विद्यालय बन्द गरिएको छ ।
वडा सचिवका श्रीमानलाई कोरोना संक्रमण देखिएकाले सचिवलाई पनि कोरोना हुनसक्ने भन्दै वडा कार्यालय र विद्यालय बन्द गरिएको वडाअध्यक्ष शंकर कँडेलले जानकारी दिए ।
‘हाम्रो वडा सचिवको श्रीमानको पिसिआर परीक्षण गर्दा पोजेटिभ देखियो । अब उहाँमा पनि कोरोना पोजेटिभ देखिन सक्ने सम्भावना धेरै देखियो’, वडाअध्यक्ष कँडेलले भने, ‘यदि उहाँमा पोजेटिभ देखियो भने वडाअध्यक्ष लगायतका जनप्रतिनिधि, वडा कार्यालयका अन्य कर्मचारी तथा सेवाग्राहीमा पनि फैलिएको हुनसक्छ ।
त्यस्तै उहाँसंगै डेरा गरेर बस्ने शिक्षकहरुबाट शिक्षक तथा विद्यार्थीहरु पनि संक्रमित भएको हुनसक्ने भन्दै विद्यालय पनि बन्द गरिएको हो ।’ सोमबार वडा कार्यालय बन्द गर्ने निर्णय गरी मंगलबार कन्ट्याक ट्रेसिङको आधारमा वडा सचिवको पिसिआर संकलन गर्ने कार्यक्रम रहेको वडाअध्यक्ष कँडेलले बताए । रिपोर्ट पोजेटिभ आएमा बन्दलाई निरन्तरता दिने नेगेटिभ आएमा कार्यालय तथा विद्यालयहरु सुचारु गर्ने निर्णय भएको छ ।
वडा कार्यालय बन्द भएपछि पञ्जीकरणका कामहरु, नागरिकता तथा चारकिल्ला सिफारिस, नाता प्रमाणित, राजस्व संकलन लगायतका कामहरु बन्द भएको वडाअध्यक्ष कँडेलले जानकारी दिए ।




