
गोरखा क्याम्पसबाट आइशोलेसन हटाउन अनेरास्वियूको माग
गोरखा क्याम्पसमा रहेको आइशोलेसन हटाउन माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन गोरखाले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
क्याम्पस भित्र आइशोलेसन रहँदा शैक्षिक गतिविधि प्रभावित भएको अनेरास्वीयूको निश्कर्ष छ ।
जिल्ला संयोजक सञ्जिव थापा मगर र सह संयोजक सुजन सिंखडाद्वारा हस्ताक्षरीत ध्यानाकर्षण पत्रमा त्रिभुवन विश्व विद्यालयको एक मात्र आंगिक क्याम्पस गोरखा क्याम्पस गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यूएए) मान्यता प्राप्त गर्ने चरणमा रहेको, त्रिविले परीक्षाको मिति पनि तय गरिसकेकाले तत्काल अन्यत्र सार्न माग गरिएको छ ।
आइशोलेसनका कारण क्याम्पसको बिज्ञान प्रयोगशालाको काम समेत प्रभावित भएको भन्दै अनेरास्वीयूले प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईलाई ज्ञापन पत्र बुझाएको अनेरास्वियूका केन्द्रिय सदस्य रामकृष्ण भट्टले बताए ।
यस अघि क्याम्पस प्रशासनले पनि शैक्षिक गतिविधि संचालन गर्नुपर्ने भएकाले अब उक्त आइशोलेसन हटाईदिन अनुरोध गर्दै आएको छ ।




