| सोमवार, कार्तिक २३, २०८३

गोरखा अस्पतालमा आजदेखि अप्रेशन सेवा सुरु

गोरखा अस्पतालमा विगत १८ महिनादेखि रोकिएको अप्रेशन सेवा मंगलबारदेखि पुनः सुरु भएको छ । पहिलो दिन आज बारपाक सुलीकोटकी एक महिलाको अप्रेशन गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।

हाल अस्पताल सञ्चालन गरिएको भवनमा अप्रेशन थिएटर निर्माण गरी अप्रेशनबाट सुत्केरी गराइएको ढकालले जानकारी दिए । बच्चा र आमा दुवैको स्वास्थ्य अबस्था सकुशल रहेको उनले बताए ।
नयाँ भवन निर्माणका लागि पुरानो भवन भत्काएपछि बिगत १८ महिनाअघिदेखि अप्रेशन सेवा बन्द थियो । ‘अस्पतालको भवन भत्काएपछि अप्रेशन थिएटर पनि थिएन, विशेषज्ञ चिकित्सक पनि हुनुहुन्थेन’, उनले भने, ‘अब अहिले हाल अस्पताल चलिरहेको भवनमा अपरेशन थिएटर सञ्चालन भएकोछ ।

चारजना विशेषज्ञ चिकित्सकहरु पनि आउनु भएको छ । अब धमाधम अप्रेशन सेवा सञ्चालन हुनेछ ।’ हाल गोरखा अस्पतालमा चार जना विशेषज्ञ डाक्टर सेवारत छन् ।


एक जना जनरल फिजिसियन, एक जना प्रसुती तथा स्त्रीरोग विशेषज्ञ र एक जना मानसिक रोग विशेषज्ञ र एकजना एमडिजिपी जनरल फिजिसिएन हाल गोरखा अस्पतालमा रहेको उनले बताए ।
अप्रेशनबाट सुत्केरी गराउने सेवा सञ्चालनपछि अन्य अप्रेशन सेवा समेत सञ्चालन गर्दै जाने योजना रहेको उनले बताए ।

गोरखा अस्पतालमा मंगलबार पहिलो पटक शल्यक्रिया गरेर बच्च निकालिँदै ।

प्रतिक्रिया दिनुहोस्