| आइतवार, कार्तिक २२, २०८३

माछा पोखरीमा बिष, छ सय माछा सखाप

गोरखाको गण्डकी गाउँपालिका ५ दर्बुङका राजेन्द्र श्रेष्ठको माछा पोखरीमा बिषका कारण छ सय माछा सखाप भएको छ । पोखरीमा बिष परेपछि आठसय ग्रामदेखि एक किलो तौलसम्मको माछा मरेको बूढीगण्डकी पशुपन्छी तथा कृषि फार्मका सञ्चालक श्रेष्ठले बताए ।


‘दशैँ अघिसम्म छ सय ५० किलो माछा बिक्री गर्ने योजना थियो’, संचालक श्रेष्ठले भने, ‘सोमवार बिहान दाना हाल्न जाँदा माछा धमाधम मरिरहेको रहेछ ।’ माछा पोखरीमा कसले बिष हाल्यो भन्ने यकिन भएको छैन ।


पोखरीमा रहेको भ्यागुता र पोखरी बाहिर मुसा पनि मरेको भेटिएको थियो । भेटेनरी प्राविधिकले पोष्टमार्टमका क्रममा ‘प्वाईजन’ का कारण माछा मरेको पुष्टि गरेपछि श्रेष्ठले पोखरीमा बिष हाल्नेको खोजी गरिदिन वडा कार्यालय, प्रहरी र टोल सुधार समितिमा निवेदन दिएका छन् ।


‘म आफु कोभिडका कारण प्रभावित भएर उपचारत छु’ श्रेष्ठले गुनासो गर्दै भने ‘मेरो परिवार पनि होम क्वारेन्टिनमा छन्, कोरोनाको पिडाका बिच पोखरीमा बिष हाल्दिएर धेरै दुःख दिए ।’ आईतवार साँझ दाना हाल्न जाँदासम्म ठिक अबस्थामा रहेको माछा सोमवार बिहान जाँदा ५० भन्दाबढि र बेलुकीसम्म छ सय वटा माछा मरेको उनले बताए ।


गत जेठ १३ गते भारतबाट प्रतिभुरा नौ रुपैयाँ ५० पैसामा उनले माछा किनेर ल्याएका थिए । यसअघि तीन रुपैयाँ प्रतिभुरा पर्ने माछा लकडाउनका कारण महँगोमा किन्नु परेको उनले बताए । माहुर जातको उक्त माछा बिक्री गरेर एक लाख रुपैयाँ आम्दानी लिने उनको योजना थियो । ‘पहिलो पटकमै यस्तो भयो’ श्रेष्ठले भने ‘पोखरी निर्माण र माछामा छ लाख रुपैयाँ खर्च गरेको थिएँ, अब त्यो ऋण लाग्यो ।’ माछा पोखरीमा कसले किन बिष हाल्यो भन्ने यकिन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्