
नेपाली सेनाद्वारा २५ लाख खर्चेर भुपू सैनिक आबासिय विद्यालय भबन निर्माण
नेपाली सेनाले गोरखा नगरपालिका ८ स्थित नेपाल राष्ट्रिय भुपू सैनिक आबासिय विद्यालयका लागि चार कोठे भबन निर्माण गरिदिएको छ । २५ लाख रुपैयाँ खर्च गरेर निर्माण गरिएको उक्त भबनको आईतवार एक कार्यक्रमका बिच श्री नम्बर ३ बाहिनीपती सागरबहादुर थापाले उद्घाटन गरेका हुन् ।
‘सेनाले यो भवन निर्माण गर्नुको उद्देश्य सैनिक र नागरिक बिचको संम्बन्धलाई प्रगाढ बनाउनु हो’ उद्घाटनका क्रममा उनले भने । अब पनि भुपु सैनिक संघ सँग नजिक रहेर सहकार्यमा काम गर्ने उनले गोरखाका भुतपूर्व सैनिकहरुलाई आश्वासन दिए ।

नेपाल राष्ट्रिय भुपु सैनिक संघ गोरखाद्वारा २०६७ सालदेखि उक्त विद्यालय गोरखामा संचालित छ । शिशु स्याहार केन्द्रबाट सुरु भएको विद्यालय अहिले कक्षा ६ सम्म संचालनमा रहेको र दुई सय भन्दाबढि विद्यार्थी त्यहाँ पढ्ने गर्छन ।
गत पुस १३ गते एलिना भट्ट निर्माण सेवाले जिम्मा लिएर सुरु गरेको उक्त भबन समय भित्रै निर्माण सम्पन्न भएको नेपाली सेना रणसिंह दल गण गोरखाका गणपति उज्वल केसीले बताए । यस अघि भुपु सैनिक आवासिय विद्यालय साँघुरो गरी संचालित थियो । अझै थप कक्षा संचालन गर्ने योजना रहेको संघले जनाएको छ ।
भुपु सैनिक संघका गोरखाका सभापति हितमानसिंह बस्न्यातको अध्यक्षतामा भएको भबन उद्घाटन कार्यक्रममा निर्माण सम्पन्न गर्न सहयोग गरेको भन्दै रणसिंह दल गण गोरखाका गणपति उज्वल केसी, लेखा उपसेनानी राजेन्द्र विष्टलाई संघले मायाको चिनो प्रदान गरेको थियो ।




