| आइतवार, कार्तिक २२, २०८३

विस्थापितलाई बासको चिन्ता

 दिउँसो बारीमा काम गर्न गए पनि जैमिनी नगरपालिका–१ का बलराम पौडेलको परिवार सुत्न बागलुङ नगरपालिका–१२ को अमलाचौर पुग्छ । कोरोना संक्रमणको त्रास अझै हटेको छैन । त्यसैले बास पाउन पनि सजिलो छैन । बाढीपहिरोले घर जोखिममा पारेकाले गाउँमा बस्न सकेका छैनन् । त्यसैले अमलाचौरमा अरूकै पालीमा ओत लागेर बिहान काममा फर्कन्छन् ।

टुनीबोट गाउँका भेषराज पौडेलको परिवार ९ दिनसम्म सरंगेस्थित कालीगण्डकी दूध उत्पादक सहकारीको संकलन केन्द्रमा बसे । मंगलबारदेखि कुस्मीसेरा बजारमा डेरा लिएका छन् । ‘बाहिर खान नमान्ने भएकाले आमालाई बहिनीको घर पठाएको छु, हामी डेरा लिएर बसेका छौं,’ पौडेलले भने, ‘सात घर भत्केका छन्, उनीहरू फर्कने अवस्थामा छैनन्, हामी भने सहज भइदिए फर्कने योजनामा छौं ।’

ग्रामीण सडक खन्दा खसेको बाढीपहिरोले यहाँका ३९ परिवार जोखिममा परेपछि विस्थापित भएका हुन् । सबै घरमा हिलो पसेको छ । कतिको घर पहिरोले भत्काउने अवस्थामा छ । यहाँ पुग्ने सडकमै दर्जनौं पहिरो छन् । यातायातका साधन चल्दैनन् ।

रेडक्रस, उद्योग वाणिज्य संघ, लायन्स क्लब, बैंकर्स एसोसिएसनजस्ता संस्थाले नगद र जिन्सी सहयोग गरेपछि पीडितहरू सार्वजनिक भवन र छिमेकीको पालीमा बस्न सकेका छन् । नगरपालिका र गण्डकी प्रदेश सरकारले मृतकका परिवारलाई राहत बाँडेको छ । यहाँको पहिरोमा दस दिनअघि तीन जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्