| आइतवार, कार्तिक २२, २०८३

गण्डकी गाउँपालिकाको गाउँसभा फेरी स्थगित,१३ गते पुन बस्ने

गत असार १० गते सक्नुपर्ने गाउँसभा अहिलेसम्म गर्न नसकेको गोरखाको गण्डकी गाउँपालिकाले शनिवार आव्हान गरेको गाउँ सभा फेरि स्थगित भएको छ ।


गणपुरक संख्या नपुगेपछि गाउँसभा स्थगित भएको गाउँपालिकाका अध्यक्ष होमबहादुर रानाले जानकारी दिए । ‘४४ जना गाउँसभा सदस्यमा २२ जना मात्रै उपस्थित हुनुभयो’ रानाले भने ‘गणपुरक संख्या नपुगेका कारण हामीले शनिवार बोलाएको गाउँसभा स्थगित गर्नुपर्‍यो ।’ पुन असोज १३ गतेका लागि गाउँसभा बोलाइएको उनले बताए ।


चालु वर्ष २०७७/७८ मा संचालन गर्ने नीति कार्यक्रम, बजेट उक्त गाउँपालिकाले अहिलेसम्म ल्याउन सकेको छैन । गाउँसभामा ४४ जना सदस्य छन् । शनिवार २२ जना मात्रै उपस्थित रहेका थिए । जम्मा सदस्यको ५१ प्रतिशत उपस्थित भएको भए गाउँ सभा गर्न मिल्ने व्यवस्था छ । कानुनतः गणपुरक संख्या नपुगेपछि मंगलवार पुन गाउँ सभा बस्नेछ ।


‘तीन दिन भित्र पुन सभा बोलाउन मिल्ने प्रावधान छ’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङले भने ‘त्यतिबेला पनि सहमति भएन भने फेरि अर्को मिति तोक्नु बाहेक बिकल्प हुँदैन ।’


गाउँपालिकाको केन्द कहाँ राख्ने भन्ने विषयमा नेकपा निकट जनप्रतिनिधि र कांग्रेस निकटका जनप्रतिनिधि बिच सहमती नहुँदा गाउँ सभा हुन नसकेको हो ।

गाउँपालिकाको केन्द्रको बाहेकका विषयमा सहमति गरेर बजेट ल्याउन आग्रह गरेको र गाउँपालिका अध्यक्षले अहिले नै सहमति गरेर जानुपर्ने बताएपछि गाउँसभा हुन नसकेको नेकपाबाट निर्वाचित वडा अध्यक्ष तुलसी रेग्मीले बताए । ‘हामीले बजेट तथा कार्यक्रम मात्र पास गरौँ भन्यौँ तर अध्यक्षज्यूले गाउँपालिकाको केन्द्रको बिषय पनि प्याकेजमै टुङ्ग्याउनुपर्छ भन्नुभयो’ वडा नं. ७ का अध्यक्ष रेग्मीले भने ‘त्यसपछि गाउँसभा अघि बढ्न सकेन ।’

गाउँसभा समयमै नहुँदा गण्डकी गाउँपालिकाको चालु वर्षका योजना, कार्यक्रम प्रभावित बनेको छ । गोरखामा बजेट ल्याउन बाँकी गण्डकी गाउँपालिका मात्रै हो ।

प्रतिक्रिया दिनुहोस्