| आइतवार, कार्तिक २२, २०८३

त्रिभुवन पुस्तकालय जगाउन होस्टेमा हैँसे गरौँ

तत्कालीन सचेत नागरिकले २००७ सालमा गोरखा सदरमुकाममा त्रिभुवन पुस्तकालय स्थापना गरे । शिक्षा नै विकासको सर्वोत्तम माध्यम हो भन्ने बुझेकाहरुले यस क्षेत्रमा शिक्षाको विकास गर्न पुस्तकालय स्थापना गरेका थिए ।
त्यतिबेला अहिलेको भन्दा धेरै कम विकास थियो, अहिलेको भन्दा सबै कुराको अभाव थियो, स्रोत, साधन, पूर्वाधारहरु कम थिए र पनि पुस्तकालय स्थापना गरे । त्यसको तुलनामा अहिले स्रोत साधन बढि छ । मान्छे धेरै विकसित छन् । जान्ने बुझ्ने धेरै छन् । केन्द्र, प्रदेशतिर पहुँच धेरै छ । अहिले त्यो भन्दा ठूलो, अत्याधुनिक सुविधा सम्पन्न पुस्तकालय निर्माण गर्न त परको कुरा त्यस्तो अबस्थामा निर्माण भएको पुस्तकालय जोगाउन पनि सकेन ।
दशकौँ बन्द रहेको पुस्तकालय भवन २०७२ सालको भूकम्पले भत्कियो ।
गुम्बा, मठ, मन्दिर जस्तैगरी सरकारले पुस्तकालय निर्माणलाई पनि प्राथमिकतामा राखेन । फलस्वरुप ७० बर्ष लामो इतिहास रचेको त्रिभुवन पुस्तकालय चारबर्षसम्म जीणर् अबस्थामै रहिरह्यो ।
केही स्थानीय सचेतवर्गले आफ्नो ठाउँको पुस्तकालय आफैले बनाउनु पर्छ भनेर पहल सुरु गरे । गोरखा नगरपालिकाले १२ लाख ५० हजार रुपैयाँ अनुदान दियो । राजेशबाबु श्रेष्ठ, विनयकुमार श्रेष्ठहरुले १०, १० लाख रुपैयाँ सहयोग गर्ने वचनवद्धता प्रकट गरे । केही दिए पनि केही अझै बाँकी छ ।
अहिले २८ लाख रुपैयाँको लागतमा भवनको आवरण तयार भएको छ, तर फिनिसिङ गर्न अझै २५ लाख लाग्ने अनुमान गरिएको छ । सो रकम जुटाउन हम्मेहम्मे भएको छ । त्यसैले सबैले आ(आफ्नो ठाउँबाट सकेको सहयोग गरेर पुस्तकालय जगाउन होस्टेमा हैँसे गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्