
प्रहरीले वडाअध्यक्षसँग बिही घटनाको सोधपुछ थाल्यो
गोरखाको बिही गाउँमा भएका श्रृङ्खलावद्ध हत्याका घटनाको बारेमा सोधपुछ गर्न नेपाल प्रहरीले सुरु गरेको छ । सोधपुछका लागि प्रहरीले चुमनुब्री गाउँपालिका वडा नं. ५ का वडाअध्यक्ष सोनाम ग्याल्जेन गुरुङलाई जिल्ला प्रहरी कार्यालय गोरखामा झिकाएको जनाएको छ ।
चार दिनको पैदलयात्रापछि वडाअध्यक्ष गुरुङ शुक्रबार जिल्ला प्रहरी कार्यालयको सम्पर्कमा पुगेका छन् ।
केही दिनअघि कुटपिटपछि मृत्यू भएकी ङिमा साङमोको घटनाको बारेमा सोधपुछ गर्न उनलाई बोलाएको प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले जानकारी दिए ।
वडाअध्यक्षसितको सोधपुछको आधारमा घटनाको बिषयमा थप अनुसन्धान सुरु गर्ने एसपी गुरुङले बताए । ‘वडाअध्यक्षज्यू आज सम्पर्कमा आइपुग्नु भएको छ’, उनले भने, ‘हामी पहिलोचरणमा केही दिनअघिको घटनाको बारेमा अनुसन्धान गर्छौँ । त्यसपछि पुराना घटनाको अनुसन्धान गर्छौँ ।’
दुईसाताअघि निर्घात कुटपिटपछि बिहीगाउँकी ५० बर्षीय ङिमा साङ्मोको मृत्यू भएको स्थानीयबासीले बताएका थिए । साथै यसअघि पनि सो गाउँमा आधारदर्जनभन्दा धेरैको हत्या तथा रहस्यमय मृत्यू भएको तर सबै गुपचुप रहेको बारे अन्नपूर्णपोष्ट दैनिकमा समाचार प्रकाशन भएको थियो ।
गत असोज ६ गतेको अन्नपूर्ण पोष्टमा ‘श्रृङ्खलावद्ध हत्या गुपचुप’ शीर्षकमा समाचार प्रकाशन भएपछि प्रहरीले घटनाको बारेमा अध्ययन अनुसन्धान प्रक्रिया सुरु गरेको थियो । ‘प्रहरी नायव उपरीक्षक वासुदेव खतिवडाको नेतृत्वमा अध्ययन टोली गठन गरेर घटनाको बारेमा अध्ययन प्रक्रिया सुरु भइसकेको छ’, एसपी गुरुङले भने ।
घटना बारे कसैबाट पनि जाहेरी नआएकाले अनुसन्धान प्रक्रियामा समस्या आएको प्रहरीले जनाएको छ ।
‘भुसको आगो’ बनेका यस्ता घटनाको बारेमा गाउँभित्र चर्चा भएपनि आक्रमणको शिकार बन्ने डरत्रासका कारण स्थानीयबासी सार्वजनिक रुपमा बोल्न चाहँदैनन् ।




