
छोराको जन्मदिन मनाउन हिँडेका बुबाको नयाँ बसपार्कमा बसको ठक्करबाट मृत्यु
नुवाकोटको शिवपुरी गाउँपालिकास्थित सुनखानी घर भइ कपन बस्दै आएका शंकर प्रसाद पन्तको बालाजु चौकी अगाडि पसल छ । लामो समयको लकडाउन र निषेधाज्ञाको कारण पसल खुल्न पाएको थिएन । तर, शंकरले महिना–महिनामा पसलको भाडा भने तिर्दै आएका थिए ।
पछिल्लो समय सरकारले पसल व्यवसाय सञ्चालनमा सहज बनाएपछि शंकरले पसल खोलेका थिए । लामो समय बन्द रहेको पसल खोल्न थालेपछि दिनदिनै मोटरसाइलकमा ‘बालाजु देखि कपन’ आवतजावत गर्थे उनी ।
गत मंगलबार शंकरको छोरा आशिषको १७ औं ‘बर्थडे’ । छोराको बर्थडे बेलुका मनाउने हो भन्दै शंकरले ६ गते पनि पसल खोले । मोटरसाइकल बिग्रेको कारण पसलसम्म शंकरलाई श्रीमती रोजीले स्कुटीमा छाडिदिइन् ।
छोराको बर्थडेमा शंकरले आफन्त र नजिकका छरछिमेकलाई समेत बोलाएका थिए । बाबुआमा आफ्नो छोराको जन्मदिनमा खुसी नहुने कुरा भएन । दिनभर पसलमा रहेका शंकर पानी परेपनि सधैं झै पसल बन्द गरेर ढिलागरी निस्के ।
मोटरसाइकल नभएका कारण श्रीमतीलाई लिन बोलाएका थिए भने छिटो होस् भनेर नै हिँड्दै सडक नापिरहेका थिए । श्रीमती पनि शंकरलाई लिन स्कुटीमा आइरहेकी थिइन् ।
रमाइलोसँग छोराको बर्थडे मनाउने सुर कसेर पसलबाट निस्केका शंकर घर पुग्नै पाएनन् । बीच बाटोमै उनलाई गाडीले ठक्कर दियो । हिँड्दै बसपार्क पुगेका शंकरलाई विनायक अस्पताल अगाडि मन्दीर छेउमा मयुर यातायातको गाडीले ठक्कर दिएको हो ।




