
चितवनमा फड्के किराले सुकाइदियो धान
चितवनको कालिका नगरपालिका-३ की दुर्गा चौधरीले ३ कठ्ठा क्षेत्रफलमा लगाएको धानमा फड्के किराले आतंक मच्चायो । ५/७ मुरी धान फल्ला र जहान परिवारलाई खुवाउँला भन्ने आशा उनको त्यतिबेला मर्यो जतिबेला हेर्दा हेर्दै हरियो धान पराल बन्दै गयो ।
धानमा बाला लाग्ने बेलामा भयो यस्तो विपत्तिले उनलाई निकै तनाब दिएको छ । ‘मुखमा आएको भाग कसैले खोसेको जस्तो भयो,’ दुर्गाले भनिन्, ‘अब फर्किएर आउँला जस्तो लाग्दैन ।’
धान बचाउन सकिएला कि भनेर उनले आइतवार बजारबाट विषादी ल्याएरसमेत धानमा हालिन् । तर, धान अब आउला भन्ने उनलाई लागेको छैन । यसअघि पनि उनले धानमा विषादी हालेकी थिइन् । तर, फड्केले छाडेन ।
दुर्गाको जस्तैं समस्याको कथा सुनाए माडी नगरपालिका-२ किरौलीका किसान अविनास महतोले । उनले २ विगाहामा धान खेती लगाएका छन् ।
करिब दुई कठ्ठाको धान फड्केले स्वाहा परिदियो । बाला लाग्ने बेलाको धानलाई फड्के खाएर पराल जस्तैं सुकाइदिएको छ ।




