
गोरखाका ब्यापारीहरुले पनि नियम पालना गरेनन्
लकडाउन खुकुलो भएसँगै गोरखा सदरमुकामका पसलहरुमा किनमेल गर्नेहरु बढेका छन् । खाद्यान्न होस वा अन्य लत्ता कपडा, भाँडाकुँडादेखि रेष्टुरेन्टमा दिनदिने मानिसको चाप बढेको छ ।
सडकमा खुल्ला राखिएको चटपट पानीपुरी खाने ठाउँहरुमा पनि मानिसको जमघट बाक्लो देखिन्छ । तर त्यहाँ कोभिड १९ बाट बच्ने उपाएको बारेमा ब्यापारी ब्यवशायीले ध्यान दिएका छैनन, न त ग्राहकको नै ध्यान पुगेको छ ।
लामो समयदेखि बन्द ब्यापार ब्यवशाय संचालन भएपछि ब्यबशायी ग्राहक देखेर दंग छन् भने बजार नखुल्दा समस्यामा परेकाहरु आफ्नो काम सकेर गन्तब्य तर्फ जानमै हतार गरिरहेका देखिन्छन् । गोरखा चेम्वर अफ कमर्शका अध्यक्ष भाईचन्द्र श्रेष्ठले ब्यवशायीलाई बारम्बार स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न अनुरोध गरिरहेको बताए । ‘धेरै पटक भनेका छौँ, ब्यापारी र ग्राहक दुबैले आफु सुरक्षित हुन स्वास्थ्यमा ध्यान दिन मास्क लगाउने, सेनिटाईजर प्रयोग गर्नेे, दुरी कायम गर्ने गर्नुको बिकल्प छैन ।’
सबै ब्यापारी ब्यवशायीलाई सार्वजनिक सुचना गरी उद्योग बाणिज्य संघले पनि आवस्यक स्वास्थ्य सुरक्षाका उपाय अपनाउन अनुरोध गरेको जनाएको छ ।
तर अधिकांश ठूला ब्यापारी ब्यवशायीले नै हात धुने ठाउँ वा सेनिटाईजर ग्राहकको सुविधाका लागि राखेको देखिँदैन ।
कोरोना नियन्त्रण र रोकथामका लागि गठित जिल्ला स्तरिय सिसिएमसीको बैठकले ब्यापारी ब्यवशायीले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरे नगरेको अनुगमन गर्न उद्योग बाणिज्य संघ र चेम्वर अफ कमर्शलाई अनुरोध गर्दै आएको छ ।




