
कोरोनाको पर्वाह नगरी वैँकमा ठेलाम्ठेल
हेलन गुरुङ
गोरखा : कोरोना फैलन सक्ने सम्भावनालाई पर्बाह नगरी राष्ट्रिय वाणिज्य वैँक गोरखामा ठूलो भीड लागेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको स्वास्थ्य सुरक्षासम्बन्धी निर्देशनको वास्ता नगरी सेवाग्राहीको भीड लागेको हो ।
प्रशासन कार्यालयले निषेधाज्ञा खुलाउँदा वैँक, वित्तीय संस्था, पसल, सरकारी कार्यालय लगायतका सार्वजनिक संस्थाहरुमा सेवाग्राहीलाई निर्धारित दुरीमा रहनु पर्ने निर्देशन जारी गरेको थियो ।
कोरोनाको जोखिमको पर्वाह नगरी वैँकमा भीड लागेको वैँकका शाखा प्रबन्धक कपिल कार्की स्वीकार गर्छन् ।
‘दुरी कायम गरेर बसिदिन हामीले बारम्बार आग्रह गरेका हौं, उनी भन्छन्, ‘तर भीड लागेको छ । तीनजना सुरक्षा गार्ड परिचालन गरेका पनि हौँ । तर चाडबाड नजिकिएर पनि होला, आज आइतबार भएर पनि होला, असाध्यै भीड लागेको छ ।’ कोरोना संक्रमणबाट बच्न अपनाउनु पर्ने स्वास्थ्य सुरक्षाबारे ग्राहकहरु सचेत नभएको उनको तर्क छ ।
आइतबार वाणिज्य वैँकअगाडि दिनभरिजसो करिब ५० मिटर लामो लाइन लागेको थियो । उनीहरु परस्पर ठेलमठेल गरिरहेका थिए ।
निषेधाज्ञा खुलाउनु भन्दा अघि वैँकर्सलाई बोलाएर स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न, गराउन निर्देशन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन् । ‘सँधै अनुगमन गइरहनु पनि सकिदैन । सर्वसाधारण आफूहरु पनि सचेत हुनुपर्छ’, उनी भन्छिन्, ‘तैपनि हामी वैँकर्सलाई पुन सचेत गराउँछौँ ।’




