बहराइनका राजकुमारको मनास्लु कार्यक्रम भव्य बनोस्
बहराइनका राजकुमार गोरखाको मनास्लु आरोहण गर्न आउँदैछन् । आउँदो डेढमहिनाभित्र उनी हेलिकोप्टरबाट सामागाउँस्थित मनास्लु बेस क्याम्प पुग्नेछन् । उनको टोलीमा १८ जना छन् ।
उनको मनास्लु आरोणले मनास्लु क्षेत्रको प्रवद्र्धन हुने विश्वास लिन सकिन्छ ।
जापानी नागरिकले मनास्लु चढेको नाममा जापानमा अहिलेसम्म पनि मनास्लु दिवस मनाउने चलन छ । दोस्रो विश्व युद्धको चोटले हतोत्साही भइरहेको जापानी नागरिकले जब मनास्लु आरोहण गरेको खबर पाए, तब त्यो दिनलाई उनीहरुले राष्ट्रिय दिवसकै रुपमा मनाए । अब जापानीहरु पनि सक्षम छन्, वीर छन् भनेर राष्ट्रिय स्तरमा आत्मबल बढेको अनुभूति गरे । यसरी मनास्लुको प्रचार प्रसार भएको थियो ।
अहिले कोरोना महामारीका कारण विश्व स्तब्ध छ । यो बेला बहराइनका राजकुमार नेपाल आउनु पनि महत्वपूणर् कुरा हो । अझै नेपालको आठहजार भन्दा अग्लो हिमाल आरोहण गर्नु झन उत्साहजनक कुरा हो । यसले उनीहरुको देशलाई पनि गर्व महशुस गराउँछ । अनि बहराइन र नेपालको सम्बन्ध अझै सुमधुर हुनेछ । मनास्लु क्षेत्र अझ विशेषगरी सामागाउँ र त्यहाँको सम्बन्ध पनि सुमधुर हुने विश्वास लिन सकिन्छ ।
उनको आगमनलाई त्यहाँका बासिन्दाले कुन रुपमा लिन्छन्, उनको स्वागतलाई स्मरणीय, अबिस्मरणीय बनाउन सकेमा उनी फर्केर गएपछि पनि सो ठाउँको विकासमा टेवा पुग्ने विश्वास लिन सकिन्छ ।
अहिले कोरोनाको बेला छ । यो बेला यदि छिछि र दुरदुरको व्यवहार भयो भने फाइदा लिन सकिदैन । त्यसैले सामागाउँका बासिन्दाले उनको स्वागतलाई अविस्मरणीय बनाउनुपर्छ ।




