
सडकमा जताततै खोल्सी, कालोपत्रे सडकमै फस्छ गाडी (फोटो फिचर)
गोरखा–आरुघाट सडक खण्डको आस्पतालमार्ग–ढुङ्गागाढे सडकमा शनिवार बिहानभरी गाडी फस्यो । ढुङ्गागाढेको घुम्तिमा शनिवार मात्रै होईन, सँधैजसो गाडी फस्छ । कालोपत्रे गरिएको भनिएको सडकको बराहदेखि ढुङ्गागाढेचोकसम्म कताकति मात्रै कालोपत्रे बाँकी छ ।
पहिलो पटक कालोपत्रे भएको पाँच वर्ष नबित्दै सडकमा ठुलाठुला खोल्सो बनेपछि दुर्घटनाको जोखिम बढेको हो ।

‘गाडी फस्यो भनेर फोन धेरै आउँछ, ठेक्का लागिसकेको सडक भएकाले हामीसँग काम गर्ने स्रोत साधन र आधार पनि हुँदैन’ गोरखा नगरपालिका ८ का वडा अध्यक्ष कृष्ण केसीले भने । वडा भित्रको सडकमा वडा कार्यालय, नगरपालिकाले चासो नदिएको गुनासो ब्यवशायी र यात्रुले गरेपछि नगरपालिकाले हिलो पन्छाएर अवरुद्ध बाटो संचलन गरेको वडा अध्यक्ष केसीले बताए ।
पूर्वाधार बिकास कार्यालय गोरखाका सूचना अधिकारी इन्जिनियर गणेश सुवेदीले अस्पताल चोकदेखि ४.६ किलोमिटरको उक्त सडकखण्ड कालोपत्रे हुने प्रक्रिया अघि बढेको बताए ।

बानियाँ निर्माण सेवाले गत साता नौ करोड ८५ लाखमा दुईवर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको छ । ‘शनिवारदेखि नै सर्भे सुरु भईसकेको जानकारी आएको छ’ इन्जिनियर सुवेदीले भने ।
कालोपत्रे भएका धेरै पक्की सडक अहिले कच्ची भएइसकेका छन् । कच्ची रहेका सडक वर्षातका कारण हिलाम्य छ । निर्माण ब्यवशायीले स्तरीय बनाउन जिम्मा लिएका सडक काम बिचैमा छाड्ने, नियमित नगरेकाले सर्वसाधारणले सास्ती भोग्नु परेको गुनासो गरेका छन् ।

मोटरसाईकलमा यात्रा गर्नेहरु हिलाम्य हुँदै यात्रा गर्न बाध्य छन । छ महिना पछि खुलेको सार्वजनिक यातायातमा यात्रु छैनन् । दरौँदी यातायात सेवा प्रालिका सदस्य अन्जनबाबु खत्रीले आरुघाट सडक खण्डको घ्याम्पेशाल खण्डमा पनि सवारी साधन सडकमै फस्ने गरेको बताए । गत वर्ष वर्खाको समयमा पनि गोरखा–आरुघाट सडकमा गाडी चलेको थियो । अहिले भने सहज नभएको उनले बताए ।
नालाको राम्रो ब्यवस्थापन नहुनु, जथाभावी शाखा सडक खोल्नु, निर्माण ब्यवशायीले जिम्मा लिएको सडकमा काम अलपत्र छाड्नु, नियमित सवारी चल्न सक्ने नबनाउनु जस्ता कारणले कालोपत्रे सडकमै बर्खाको बेला खोला बग्छ ।
वर्षातका कारण सडक अवरुद्ध हुँदा ४० वटा ग्रामिण रुट मध्ये पाँच\सातवटामा मात्रै गाडी चलेको ब्यवशायीले बताएका छन् ।




