
शनिबार गोरखाका ६४ जनाको कोरोना रिपोर्ट नेगेटिभ
गोरखामा शनिबार ६४ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । गोरखा नगरपालिका, पालुङटार नगरपालिका र बारपाक सुलीकोटमा संकलन गरिएको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको पालिकाहरुले जनाएका छन् ।
गोरखा नगरपालिकाका २४ जनाको कोरोना नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले जानकारी दिए । वडा नं. ७ र वडा नं. ९ मा गरिएको परीक्षणको रिपोर्ट नेगेटिभ आएको रेग्मीले जनाए ।
त्यस्तै पालुङ्टार नगरपालिका वडा नं. ९ को सेरा र बिर्दीमा गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखाका कोरोना फोकल पर्सन दीपेन्द्र गिरीले जानकारी दिए । सेरामा २० जनाको स्वाब संकलन गरिएकोमा आठजनाको रिपोर्ट नेगेटिभ आएको र बिर्दीका चार जनाको रिपोर्ट नेगेटिभ आएको उनले बताए ।
त्यस्तै बारपाक सुलीकोट गाउँपालिका वडा नं. ८ बाट स्वाब संकलन गरिएका २० जनाको कोरोना रिपोर्ट पनि नेगेटिभ आएको त्यहाँका कोरोना फोकलपर्सन कृष्ण भट्टले जानकारी दिए ।




