
कोरोना नियन्त्रणमा स्थानीय तहलाई पर्यटन ब्यवशायी खत्रीको लाखौँ सहयोग
कहिले थर्मल गन, कहिले भिटिएम र हजारौँ थान मास्क लिएर पर्यटन ब्यवशायी प्रेम खत्री गृह जिल्ला गोरखा आईरहन्छन् । गोरखाका स्थानीय तहसँगको सहकार्यमा कोरोना रोकथाम र नियन्त्रणमा ब्यक्तिगत सहयोग गर्नेमा उनी अग्रपंक्तिमा छन् । आफुलाई जे अनुकुल प¥यो त्यही होईन, उनी स्थानी तह सँगको समन्वयमा के आवश्यक छ त्यो सहयोग गर्छन ।
खत्रीले बुधवार यहाँका स्थानीय तहहरुलाई चार हजार आठ सय थान कोरोना परीक्षण किट्स (भिटिएम) सहयोग गरे । ‘मास्क २५ हजार दिने योजना हो, बाँकी केही दिनमा आउँछ’ पर्यटन ब्यवशायी खत्रीले भने । उक्त सामग्री १३ लाख ९० हजार रुपैयाँ बरावरको रहेको छ । ‘स्थानीय तहहरुको माग अनुसार भिटिएम र मास्क सहयोग गरेको हुँ’ खत्रीले भने ‘अहिले माग भिटिएमको धेरै छ, हामीसँग अभाव छ भन्नुभयो त्यही भएर भिटिएम दिएँ ।’ ‘मलाई खाद्यान्न सहयोग गरुँ कि भन्ने लागेको थियो, तर माग किट्सको भएपछि त्यही दिएँ’ उनले भने ।
खत्रीले कांग्रेस सभापति हरिबहादुर घलेलाई र उनले जिल्ला समन्वय प्रमुख अशोककुमार गुरुङ मार्फत स्थानीय तहलाई भिटिएम हस्तान्तरण गरेका कांग्रेस जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले बताए । ‘मास्क पार्टीले गाउँगाउँमा सर्वसाधारणलाई बितरण गर्ने हो, भिटिएम स्थानीय तहलाई जिम्मा लगाईसक्यौँ’ उनले भने ।
गोरखा नगरपालिकालाई नौ सय थान, चुमनुब्रीलाई दुई सय, धार्चे तीन सय, आरुघाट पाँच सय, भिमसेन चार सय, शहिदलखन चार सय, गण्डकी पाँच सय, पालुङटार चार सय, सिरानचोक चार सय, बारपाक सुलिकोट चार सय र अजिरकोट गाउँपालिकालाई चार सय थान मास्क सहयोग गरिएको उनले बताए । कोभिड १९ बाट सर्वसाधारण नागरिकलाई बचाउन र सचेतना जगाउन कांग्रेस जिल्ला पार्टीले स्थानी तह, प्रशासन, सहयोगी ब्यक्तिहरुसँगको समन्वयमा काम गरिरहेको सचिव न्यौपानेले बताए ।
लामो समय देखि पर्यटनको क्षेत्रमा काम गर्दै आएका खत्री नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत हुन् । यस अघि उनले गोरखाका स्थानीय तह, अस्पताल, प्रशासनलाई ४० वटा थर्मल गन र पाँच हजार थान मास्क सहयोग गरेका थिए ।




